काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २५ मेगावाटभन्दा साना आयोजनामा पनि लगानी गर्ने नीति लिनुपर्ने बताएका छन् । कम्पनीको १४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । ऊर्जा क्षेत्रमै लगानी व्यवस्थापनका लागि सरकारले स्थापना गरेको संस्थाले साना तथा मझौला जलविद्युत् आयोजनालाई बेवास्ता गर्नु नहुने उनको भनाइ छ ।
‘२५ मेगावाटभन्दा ठूला आयोजनामा मात्रै ऋण तथा सेयर लगानी गर्ने संस्थाको नीतिगत व्यवस्था परिमार्जन गरी अब लगानीका लागि समस्या भोगिरहेका साना, ठूला जुनसुकै आकारको आयोजनामा लगानी गर्ने नीति लिनुपर्छ,’ उनले भने, ‘साना तथा मझौला आयोजनाले नै नेपालको हालको ऊर्जा विकासको जग खडा गरेको कुरा भुल्नु हुँदैन, कसैलाई पनि डुब्न दिनु हुँदैन ।’
उनले एचआइडिसिएलले अहिलेसम्म खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे ।
ऊर्जामा आत्मनिर्भर बन्न र निर्यातको सम्भावनालाई साकार बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको मन्त्रीको स्पष्ट धारणा थियो । ‘आजको आवश्यकता अनुसार नयाँ सोच र प्रविधिसँगै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्छ,’ उनले भने, ‘यसले मुलुकको आर्थिक वृद्धिमा प्रत्यक्ष टेवा पुर्याउँछ।’
मन्त्री खड्काले ऊर्जा क्षेत्रमै थप लगानी भित्र्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राखे । ‘स्रोत र खनिजको सदुपयोग गरेर मात्रै देशलाई समृद्धिको बाटोमा लयाउन सकिन्छ,’ उनले भने, ‘ऊर्जा क्षेत्र आफैं बैंकको बैंक बन्न सक्छ ।’
कार्यक्रममा एचआइडिसिएलका अध्यक्ष समेत रहेका ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीको १४ वर्षे यात्रामा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।
विद्युत नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धितालले ऊर्जा क्षेत्रको विकासका लागि नियामकीय उपकरणहरू, नीति, नियम र कानुनमा स्थायित्व चाहिने बताए । त्यसकै लागि आयोगले काम गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापाले कम्पनीको प्रगति र भावी योजनाबारे प्रस्तुतीकरण गरेका थिए । उनले २०६८ सालमा स्थापना भएको कम्पनीले हालसम्म ९२७ मेगावाटका विभिन्न १४ वटा आयोजनामा ऋण र सेयर लगानी गरिसकेको बताए । त्यस्तै, कम्पनीले पछिल्लो ५ वर्षयता निरन्तर लाभांश वितरण गर्दै आएको पनि उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एचआइडिसिएलसँग प्राधिकरणको सुरुदेखि नै सहकार्य हुँदै आएको र आगामी दिनमा अझ व्यापक बन्दै जाने बताए । उनले प्राधिकरणले १० अर्ब रुपैयाँ बराबरको सर्ट टर्म ऋण लिन मन्त्रिपरिषद्बाट स्वीकृति पाएको तर ‘क’ वर्गका बैंकबाट मात्र लिन पाइने प्रावधान रहेकोले एचआइडिसिएलबाट त्यस्तो ऋण लिन नसक्ने अवस्था बनेको बताए । त्यस्तै, प्राधिकरणले २० अर्ब रुपैयाँको बन्ड जारी गर्ने प्राधिकरण सञ्चालक समितिबाट पारित गराई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएकोले उक्त बन्डमा लगानी गर्न भने एचआइडिसिएले सक्ने बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले एचआइडिसिएल वा सरकार आफैँले जलविद्युत् आयोजना बनाउनु उपयुक्त नहुने भन्दै निजी क्षेत्रलाई अब प्रसारण पूर्वाधार निर्माण तथा ऊर्जा व्यापारमा पनि सहभागी गराउनुपर्ने बताए ।
कार्यक्रममा एचआइडिसिएमा उत्कृष्ट सेवा गर्ने कर्मचारीहरू मध्येबाट अधिकृत कौशलराज अधिकारी र चालक गुरुकाजी डङ्गाललाई सम्मान गरिएको थियो ।