काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पदाधिकारीबीच करिब सवा घण्टा लामो अन्तरक्रियात्मक छलफल भएको छ । ऊर्जा क्षेत्रका समस्या र चुनौतीका विषयमा प्रधानमन्त्री शाहले इपान पदाधिकारी टोलीसँग शुक्रबार सिंहदरबारमा गम्भीर छलफल गरेका हुन् ।
छलफलका क्रममा इपानले जलविद्युत् आयोजनाहरूले व्यावसायिक विद्युत् उत्पादन गर्नका लागि तोकिएको म्याद (आरसिओडी) ३ वर्ष थप गर्न माग राखेको छ । त्यस्तै, वन–वातावरण सम्बन्धी स्वीकृतिको प्रक्रियागत झमेला, जग्गा प्राप्तिका जटिलता, विद्युत् व्यापार, प्रसारण लाइनका समस्या, ऊर्जा आयोजनाबाट सरकारलाई हुने लाभ, निजी क्षेत्रको क्षमता, दक्षता र अनुभवका साथै आन्तरिक रूपमा विद्युत् खपत वृद्धिलगायतका विषयमा रहेका समस्या समाधानको माग समेत राखेको इपान अध्यक्ष मोहनकुमार डाँगीले जानकारी दिए । ‘खपत वृद्धिका लागि डाटा सेन्टर, सेयरसम्बन्धी समस्या, धितोपत्र बोर्डको भूमिका, लगानी बोर्डका प्रक्रियालगायतसहित हामीले करिब सबैजसो विषयमा छलफल भएको छ,’ उनले भने ।
इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाको नेतृत्वमा गएको टोलीसँगको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण र हरित विकासको महत्त्वपूर्ण आधारको रूपमा स्वीकार गरेका छन् । त्यस्तै, निर्यात प्रवर्द्धनमा समेत ऊर्जा क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भन्दै यस क्षेत्रका समस्या इपानसँगको सहकार्यमै समाधान गर्न सरकार तयार रहेको आश्वासन प्रधानमन्त्रीबाट प्राप्त भएको उनको भनाइ छ ।
छलफलमा विद्युत् खरिद सम्झौता भएर पनि विभिन्न कानुनी, प्राविधिक वा व्यावहारिक कारणले काम अघि बढ्न नसकेका आयोजनाहरूको अनुमतिपत्र खारेज गर्ने भन्दै सरकारले तयार पारेको अध्ययन प्रतिवेदनका विषयमा इपानले आफ्नो गम्भीर असहमति राखेको समेत वरिष्ठ उपाध्यक्ष लामालले बताए । ‘यी यावत् विषयमा तथ्य–तथ्याङ्कसहित थप अध्ययन गरेर निचोड निकाल्ने गरी प्रधानमन्त्री शाहले इपान टोलीलाई अर्को पटकको छलफलका लागि पुनः आमन्त्रण गर्नुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्री आफैँ इन्जिनियरिङ क्षेत्रको हुनुभएकोले पनि हुनसक्छ– समस्या समाधान गर्ने सवालमा सरकार सकारात्मक देखिएको छ भने पहिलो चरणको यो छलफल निकै उत्साहजनक र सकारात्मक भएकाे छ ।’
छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारीको उपस्थिति रहेको थियो । त्यसैगरी, इपानका तर्फबाट वरिष्ठ उपाध्यक्ष लामासहित उपाध्यक्षहरू हिमप्रसाद पाठक, सुसन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की तथा महासचिव टीएन आचार्यलगायतको सहभागिता थियो ।
प्रधानमन्त्री समक्ष पेश गरिएकाे इपानकाे ४७ बुँदे मागपत्र