काठमाडौं । सर्वसाधारणले भूगोल इनर्जी डेभलपमन्ट कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले चैत २३ गतेदेखि निष्कासन गरेको सेयर आवेदन आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
जारी पूँजी १३ करोड ४६ लाख ९९ हजार ३ सय रकम बराबरको सय रुपैयाँ अंकित १३ लाख ४६ हजार ९ सय ९३ किता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजागरीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकत्तम ३० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आई सी एशिया कयापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीको दैलेख जिल्लामा ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजना सञ्चालनमा छ । उक्त आयोजना कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ ।