विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको जलविद्युत् विकासको यात्रामा गैर-आवासीय नेपाली (एनआरएन) द्वरा प्रवर्द्धित २८.१ मेगावाटको अपर काबेली जलविद्युत् आयोजनाले एउटा ऐतिहासिक फड्को मारेको छ । ताप्लेजुङ जिल्लामा निर्माण भइरहेको यो एनआरएनको पूर्ण लगानी, नेतृत्व र व्यवस्थापनमा निर्माणाधीन पहिलो ठूलो आयोजना हो ।

मुख्य सुरुङ खन्ने कार्य सफलतापूर्वक सम्पन्न भई 'ब्रेक थ्रु' भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाको कुल ५.६ किलोमिटर लामो भूमिगत जलप्रवाह प्रणालीमध्ये अत्यन्तै जटिल मानिएको ४.८ किलोमिटर लामो मुख्य सुरुङको खन्ने कार्य पूर्ण हुनु प्राविधिक एवम् व्यवस्थापकीय हिसाबले महत्त्वपूर्ण सफलता मानिएको छ ।

यस ऐतिहासिक उपलब्धिले आयोजनालाई व्यावसायिक उत्पादनको थप नजिक पुर्‍याएको छ । 'पीस इनर्जी कम्पनी लिमिटेड'द्वारा प्रवर्द्धित आयोजनाले सुरुदेखि नै तय गरेको कार्यतालिकालाई अक्षरसः पालना गर्दै आएको कम्पनीका कार्यकारी अध्यक्ष डा. मदनकुमार उप्रेतीले बताए ।

कम्पनीका अनुसार २०८१ साल असार १७गतेबाट आयोजनाको निर्माण सुरु भएको थियो, ठिक ३० महिनाको लक्षित अवधिभित्र अर्थात् आगामी अक्टोबर २०२६ (कार्तिक २०८३) सम्म व्यावसायिक ऊर्जा उत्पादन सुरु गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । जुन नेपाली जलविद्युत् क्षेत्रमा निर्माण व्यवस्थापनको उत्कृष्ट नमुना मान्न सकिन्छ ।

डायस्पोरिक लगानीको मानक

अपर काबेलीले नेपालको ऊर्जा क्षेत्रमा एउटा विशिष्ट र ऐतिहासिक पहिचान बनाउन सफल भएको छ । यो संयुक्त राज्य अमेरिका (युएसए) मा रहेका गैर-आवासीय नेपालीद्वारा शतप्रतिशत वित्तीय व्यवस्थापन, प्रत्यक्ष परिचालन र व्यवस्थापन गरिएको नमुना आयोजना पनि हो ।

विदेशमा रहेका नेपालीले केवल रेमिट्यान्स मात्र नभई अन्तर्राष्ट्रियस्तरको पुँजी, परिष्कृत प्राविधिक विशेषज्ञता र आधुनिक कर्पोरेट सुशासन कसरी मातृभूमिको आर्थिक रूपान्तरणमा परिचालन गर्न सक्छन् भन्ने कुरा यस आयोजनाले प्रमाणित गरेको देखिन्छ ।

'यो सुरुङ ब्रेक थ्रु हाम्रो सम्पूर्ण टोलीको अथक मिहिनेत, उच्च व्यावसायिकता र दृढ संकल्पको प्रतिफल हो,' उनले भने, 'यस कोसेढुङ्गाले नेपालीको नेतृत्वमा बन्ने आयोजना पनि विश्वस्तरीय सुशासन, पारदर्शिता, सुरक्षा र गुणस्तरका साथ समयमै सम्पन्न हुन सक्छन् भन्ने बलियो सन्देश दिएको छ ।'

प्रवासमा रहेका नेपालीहरू केवल पुँजी मात्र होइन, आफूले विदेशमा आर्जन गरेको ज्ञान, आधुनिक प्रविधि र व्यवस्थापकीय कौशल नेपालको समुन्नत भविष्य निर्माणका लागि भित्र्याउन प्रतिबद्ध छन् भन्ने यो बलियो प्रमाण पनि देखिएको छ ।

इन्जिनियरिङ उत्कृष्टता

निर्माण सुरु भएदेखि नै आयोजनाले इन्जिनियरिङ उत्कृष्टता, श्रमिकको उच्च सुरक्षा, वातावरणीय मापदण्डको पूर्ण पालना र पारदर्शी आयोजना व्यवस्थापनलाई मुख्य आधार अर्थात् जगको रूपमा अङ्गीकार गरेको छ । आधुनिक निर्माण व्यवस्थापन प्रणाली लागू गरिएकै कारण भौगोलिकरूपमा विकट र प्राविधिक चुनौती मानिएको सुरुङ खन्ने काम बिनाकुनै अवरोध समयमै सम्पन्न भएको छ ।

आयोजनाले व्यावसायिक सफलता मात्र नभई स्थानीय सामाजिक-आर्थिक रूपान्तरणमा समेत ठूलो योगदान पुर्‍याएको छ । ताप्लेजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि ठूलो संख्यामा रोजगारी सिर्जना, स्थानीय सामग्री र सेवाको खरिद, ग्रामीण पूर्वाधारको विकास तथा समुदायकेन्द्रित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका कारण आयोजना र स्थानीय समुदायबीच सुमधुर सम्बन्ध स्थापित भएको छ ।

भावी कार्यदिशा

सुरुङ खन्ने मुख्य काम सकिएसँगै अब आयोजनाको ध्यान सुरुङको अन्तिम फिनिसिङ (कङ्क्रिटिङ/लाइनिङ), हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान, प्रसारण लाइन निर्माण र टेस्टिङ-कमिसनिङतर्फ केन्द्रित छ । आवश्यक मुख्य इलेक्ट्रोमेकानिकल उपकरण यसअघि नै निर्माणस्थलमा ढुवानी भइसकेका र बाँकी नेपाल भित्रिने क्रममा छन् ।

आयोजना सम्पन्न भएपछि यसबाट वार्षिक करिब १७० गिगावाट घण्टा ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ, जसले देशको बढ्दो ऊर्जा माग धान्न महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

राष्ट्र निर्माणमा गैर-आवासीय नेपालीको पुँजी, प्रविधि र व्यवस्थापकीय कौशलको बलियो दृष्टान्त ।

७ वर्षभित्र १००० मेगावाट

अपर काबेलीको सुखद सफलता एउटा आयोजनामा मात्र सीमित हुने छैन । यस समूहमा आबद्ध गैर-आवासीय नेपाली लगानीकर्ताले म्याग्दी जिल्लामा ८६ मेगावाटको अर्को आयोजना निर्माणका लागि स्रोत तथा पुँजी परिचालन गरिसकेको छ । साथै, थप ७०० मेगावाटका जलविद्युत् आयोजनाको अनुमति लिएर विकास प्रक्रियालाई तीव्रता दिइएको छ ।

यस प्रवर्द्धक समूहको दीर्घकालीन दूरदृष्टि आगामी ७ वर्षभित्र नेपालमा १,००० मेगावाटभन्दा बढी जलविद्युत् विकास र व्यवस्थापन गर्नु रहेको छ । यो महत्त्वाकांक्षी अभियानले नेपालको ऊर्जा सुरक्षालाई मात्र मजबुत बनाउने छैन । अर्बौँ रुपैयाँको स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्ने विश्वास गर्न सकिन्छ ।

सक्षम नेतृत्व

विगत २६ वर्षभन्दा बढी समयदेखि संयुक्त राज्य अमेरिकामा कर्मथलो बनाउँदै आएका डा. मदनकुमार उप्रेती गैर-आवासीय नेपाली समुदायका एक प्रतिष्ठित चिकित्सक, सफल उद्यमी तथा पूर्वाधार लगानीकर्ता हुन् । प्रवासमा रहे पनि मातृभूमिको समृद्धिप्रति अगाध आस्था राख्ने उप्रेती हाल पीस इनर्जी कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष तथा 'इन्फ्रा नेपाल डेभलपमेन्ट फण्ड' को अध्यक्षका रूपमा क्रियाशील छन् । आफ्नो ज्ञान र पुँजी मातृभूमिलाई फर्काउने र विश्वभर फैलिएका नेपालीलाई राष्ट्र निर्माणको साझा जिम्मेवारीमा जोड्ने उनको यो अभियान ऊर्जा क्षेत्रका लागि ठूलो प्रेरणा बन्न सक्छ ।

आयोजनाका मुख्य विशेषता

•    आयोजनाको क्षमता: २८.१ मेगावाट

•    अवस्थिति: ताप्लेजुङ जिल्ला

•    प्रवर्द्धक / विकासकर्ता: पीस इनर्जी कम्पनी लिमिटेड

•    मुख्य सुरुङ: ४.८ किलोमिटर (कुल जलप्रवाह संयन्त्र: करिब ५.६ किलोमिटर)

•    वार्षिक अनुमानित ऊर्जा: करिब १७० गिगावाट घन्टा

•    लगानी ढाँचा: अमेरिकास्थित गैर-आवासीय नेपालीहरूको शतप्रतिशत लगानी र व्यवस्थापन

•    लक्ष्य: ७ वर्षभित्र १,००० मेगावाटभन्दा बढी विद्युत् उत्पादन

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३