काठमाडौँ । निजी क्षेत्रले निर्माण गर्न लागेको अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजनाको सुरुङ निर्माण गर्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिने भएको छ । उक्त कार्यका लागि आज चिनियाँ ठेकेदारसँग ठेक्का सम्झौता गर्ने तयारी छ ।
चिनियाँ कम्पनी चाइना रेल्वे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडसँग टिबिएमबाट आयोजनाको करिब ८.७ किलोमिटर मुख्य सुरुङ खन्ने सम्झौता हुन लागेको प्रवर्द्धक तमोर इनर्जी प्रालिले जानकारी दिएको छ । सरकारले सिँचाइ तथा बहुउद्देश्यीय आयोजना विकासमा टिबिएमको प्रयोग सुरु गरे पनि निजी क्षेत्रका आयोजनामा यो नै पहिलो हो ।
यसअघि सिँचाइ सुविधा र जलविद्युत् समेत उत्पादन हुने गरी निर्माण सुरु भएका भेरी–बबई र सुनकोसी–मरिन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सरकारले टिबिएम प्रयोग गरेको छ । भेरी–बबईकै टिबिएम सुनकोसी–मरिनमा प्रयोग भएको र त्यही सिकाइबाट नै तमोर इनर्जीले आफ्ना आयोजनाको सुरुङ निर्माण गर्न यो आधुनिक प्रविधि प्रयोग गर्ने निर्णय गरेको छ ।
करिब ५५ अर्ब रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको आयोजनामा सरकारी र निजी गरी करिब एक दर्जन बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने गरी गत जेठ २४ गते वित्तीय व्यवस्थापन भएको थियो ।
कम्पनीका अनुसार हाल ५५ अर्ब १५ करोड रुपैयाँ लागत प्रक्षेपण गरिएको आयोजनामा ७० प्रतिशत ऋण (३८ अर्ब ६) करोड रुपैयाँ, र ३० प्रतिशत स्वपुँजी (१६ अर्ब ५५ करोड रुपैयाँ) लगानी हुनेछ । लगानी अनुमानका आधारमा आयोजनाको प्रतिमेगावाट लागत करिब १९.३५ करोड रुपैयाँ हुन आउँछ । माथिल्लो तमोरमा सुपर मादीबाट हुने आम्दानीमार्फत ३ अर्ब १५ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने कम्पनीले निर्णय गरेको छ ।
फक्ताङलुङ गाउँपालिकामा निर्माण हुने भूमिगत विद्युत्गृहबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनबाट १५ किलोमिटर टाढा निर्मित नेपाल विद्युत् प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनमा जोडिने छ । प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार सुक्खायामको पिकिङ समयमा प्रतियुनिट १०.५५ रुपैयाँ (आंशिक जलाशय भएको हुँदा) र औसत प्रतियुनिट ६.२७ रुपैयाँ बिजुलीको बिक्री मूल्य पाउनेछ ।
माथिल्लो तमोरको प्रवर्द्धक समूहले सुरुमा पर्वत जिल्लमा १ मेगावाटको पाती खोला निर्माण गरेको थियो । त्यसपछि, पाँचथरमा १४.९० मेगावाटको हेवा खोला ‘ए’, कास्कीमा ४४ मेगावाटको सुपर मादी निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यस्तै, ३७.५ मेगावाटको तमोर–५ र २१ मेगावाटको पालुनखोला निर्माणाधीन छन् ।
कुन बैंकको कति लगानी ?
एभरेष्ट बैंक : ५ अर्ब रुपैयाँ (१२.९५%)
एचआइडिसिएल : ४ अर्ब रुपैयाँ (१०.३६%)
कृषि विकास बैंक : ४ अर्ब रुपैयाँ (१०.३६%)
राष्ट्रिय वाणिज्य बैंक : ३ अर्ब रुपैयाँ (७.७७%)
प्रभु बैंक : ३ अर्ब रुपैयाँ (७.७७%)
लक्ष्मी सनराइज बैंक : २ अर्ब रुपैयाँ (५.१८%)
नेपाल एसबिआई बैंक : १ अर्ब रुपैयाँ (२.५९%)
गरिमा विकास बैंक : १ अर्ब रुपैयाँ (२.५९%),
कामना सेवा विकास बैंक : १ अर्ब रुपैयाँ (२.५९%)
आयोजनाको थप विवरण
आयोजना : माथिल्लो तमोर (२८५ मेगावाट)
आयोजनाको प्रकृति : आंशिक–जलाशय (दैनिक ६ घन्टा पानी सञ्चय गर्न सकिने)
प्रवर्द्धक कम्पनी : तमोर इनर्जी प्रा.लि.
आयोजना निर्माणस्थल : ताप्लेजुङ जिल्ला (फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका)
विद्युत् खरिद सम्झौता (पिपिए) : २०७९ कात्तिक
पानीको उपयोग : ८ लाख घनमिटर
मुख्य सुरुङ : ८.७ किलोमिटर
ग्रस हेड : ४५० मिटर
टर्बाइन : ५७ मेगावाटका ५ वटा पेल्टन टर्बाइन
वार्षिक ऊर्जा उत्पादन : १६५५ गिगावाट घन्टा (१ अर्ब ६५ करोड युनिट)
सुख्खायामको ऊर्जा : ४४६ गिगावाट घन्टा (४४ करोड ६० लाख युनिट)
आयोजना सम्पन्न गर्ने लक्ष्य : २०८५ साल, जेठ १९ गते
विद्युत् उत्पादन सुरु भएको पहिलो वर्षको आम्दानी : १० अर्ब १२ करोड रुपैयाँ
मूल्यवृद्धिपछि ९औँ वर्षमा हुने आम्दानी : १२ अर्ब ५५ करोड रुपैयाँ