काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच देशको अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवम् पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपालमा विशेषतः जलनको उपचार, पुनःस्थापनामा सहयोग र डायलासिस सेवाको पहुँच तथा गुणस्तरीय स्वास्थ्य सेवाको बढ्दो आवश्यकतालाई मनन गर्दै दुवै पक्षबीच यो सहकार्य अघि बढाइएको जनाइएको छ ।
रणनीतिक साझेदारी अन्तर्गत नबिल बैंकले नेपालभरि जलनका बिरामीको सघन उपचार, कृत्रिम अंग जडान र डायलासिस सेवा विस्तारका लागि धुलिखेल अस्पताललाई रु. ६ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने छ । यस्तै, सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना हुनेछ । अस्पताल व्यवस्थापनको नेतृत्वमा आगामी दिनमा अन्य प्रदेशहरूमा पनि यस्तै सुविधाहरू विस्तार गरिने योजना छ ।
यसैगरी, बैंकको सहयोगमा दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा एकाईहरू स्थापना गरिने छ भने मौजुदा डायलासिस सेवाहरूलाई थप सुदृढ बनाइने सम्झौतामा उल्लेख छ । यो सम्झौता आगामी तीन वर्षसम्मका लागि लागू हुने बैंकले जनाएको छ ।
'हामीले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्दै आएका छौं । सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्दा हामीले जहिले पनि कति जनाको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्यौं भन्ने मानक राख्ने गर्दछौं,' बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले भने, 'धुलिखेल अस्पताल पनि यस्तै उद्देश्यका साथ सञ्चालित अस्पताल भएकाले यो सहकार्यद्वारा हामीले सँगै धेरै मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छौं भन्ने मलाई विश्वास छ ।'
सोही क्रममा बैंकका सिइओ ज्ञवालीले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई दायित्व मात्र नभई बैंकको समाजप्रतिको प्रतिबद्धताको रूपमा लिएको बताए । 'यसमार्फत समग्र मुलुक र विशेषतः गरिब तथा सीमान्तकृत समुदायका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुग्ने छ,' उनले भने, 'यो कार्यमा कुनै कमी हुन नदिने म प्रतिबद्धता जनाउँछु ।'
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले अस्पताल समुदायमा आधारित अस्पताल रहेकोले सुरुदेखि नै हजारौँ मानिसलाई गुणस्तरीय र सुलभ सेवा दिँदै आएको बताए । बैंकसँगको यो साझेदारीले जलन, कृत्रिम अंगसम्बन्धी उपचार, पुनःस्थापनाका साथै डायलासिस सेवामा थप प्रभावकारी सेवा प्रदान गर्न ठूलो मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ । यसअघि सुदूरपश्चिम, कर्णाली, मधेश र लुम्बिनी प्रदेशमा जलनका बिरामीका लागि विशेष शल्यक्रिया शिविर सञ्चालन गरेको थियो, जसबाट ५०० जना बिरामीले निःशुल्क उपचार र १३० जनाले निःशुल्क शल्यक्रिया सेवा पाएका थिए ।
त्यस्तै, बैंकले नवलपरासी सुस्ता पूर्वको प्रादेशिक अस्पताल र बर्दघाटको चिसापानी अस्पतालमा रहेका कृत्रिम अंग केन्द्रहरूलाई पनि सहयोग गर्दै आएको छ, जहाँबाट ३०० भन्दा बढी लाभग्राहीले निःशुल्क कृत्रिम अंग प्राप्त गरिसकेका छन् ।
बैंकका अनुसार बैंकको यो उद्देश्य सरकारले देशभरका बिरामीलाई सुलभ र पहुँचयोग्य उपचार सुनिश्चित गर्ने भनी लिएको राष्ट्रिय लक्ष्यसँग पनि पूर्ण रूपमा मेल खान्छ । बैंकले 'नबिल एसएसई' मार्फत सामाजिक उद्यमशीलता, विकास र रोजगारी सिर्जना गर्दै दिगो विकासमा समेत योगदान पुर्याउँदै आएको छ ।