काठमाडौँ । कपिलवस्तुको तौलिहवामा नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्तर्गत ३ वटा ११ केभीका फिडरहरू एकै पटक चार्ज गरी सञ्चालनमा ल्याइएको छ । लुम्बिनी प्रदेशिक कार्यालय बुटवलका प्रादेशिक प्रमुख हरिप्रसाद पाण्डेले ती फिडरको उद्घाटन गरेका हुन् ।
केन्द्र प्रमुख गौरव पाण्डेका अनुसार जितपुर सबस्टेसनमा २ वटा र मोतिपुर ग्रिड सबस्टेसन अन्तर्गत एउटा फिडर सञ्चालनमा ल्याइएको छ । ती फिडरहरू चार्ज भएपछि चार नम्बर फिडर (नयाँ) जितपुरदेखि पूर्व वैरियासम्म, उत्तर उप्टहवासम्म, दक्षिण हिमालयन रिसोर्टसम्म र पश्चिम सिद्धार्थ क्याम्पससम्मको विद्युत् आपूर्तिमा सुधार हुनेछ ।
यसैगरी, पिपरा फिडर अन्तर्गत चार नम्बर बाहेक अन्य साविक क्षेत्र यथावत रूपमा सुचारु हुने तथा ओदारी फिडर (नयाँ अन्तर्गत कर्महना दक्षिण साबिकको गजेहडा फिडरतर्फ पनि आपूर्तिमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ । गजेहडा फिडर अन्तर्गत हिमालयन रिसोर्टदेखि कर्माहनासम्म सडक पूर्व-पश्चिम तथा मोतिपुर फिडर (नयाँ) अन्तर्गत मोतिपुर बनगाँईको केही भाग, गनसहवा, ढोडेकोल, मोर्मी, बन्डौली, मधुवन क्षेत्रतर्फ पनि आपूर्तिमा सुधार हुने केन्द्रले जनाएको छ ।
उता स्कुल फिडर अन्तर्गत सिद्धार्थ क्याम्पस पश्चिम बनगाईसम्म, राजमर्ग उत्तर-दक्षिणको आपूर्ति सहज हुने भएको छ । नयाँ फिडर सञ्चालनमा आएपछि साविकका पिपरा, जगेहडा र स्कुल फिडर टुक्र्याइएको छ । जितपुर फ्युज सेवा टिम, सौरभ थारु, खुमानन्द बेल्वासे, तौलिहवा मर्मत टोली, दुर्गेश्वरी तथा अन्य निर्माण सेवा एवम् समस्त वितरण केन्द्रको अथक मिहिनेतबाट उक्त काम सम्पन्न भएको पाण्डेले जानकारी दिए ।
तस्बिरः नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्र