विद्युत अपडेट

  • प्राधिकरण : ८६४३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४०९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५५४६ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : २११५९ मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८४७० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३०१६ मे.वा.
२०८३ असोज २३, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपालको ऊर्जा तथा पूर्वाधार विकास प्रशासनका अनुभवी एवम् पाका नेतृत्वकर्ता नविनराज सिंह नेपाल सरकारको सचिवमा पदोन्नत भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राविधिक सेवातर्फबाट सर्वोच्च प्रशासनिक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

सिंहको यो पदोन्नति एउटा नियमित प्रशासनिक सोपानको चढाइमात्र होइन; ऊर्जा तथा जलस्रोतको क्षेत्रमा आयोजनाको जग खन्नेदेखि नीति निर्माण, नियमन, अन्तर्राष्ट्रिय सहकार्य र लगानी व्यवस्थापनसम्म समृद्ध अनुभवको मूल्याङ्‌कन पनि हो ।

हाल लगानी बोर्डको कार्यालयमा सहसचिवका रूपमा कार्यरत सिंहले पछिल्ला वर्षमा नेपालको ऊर्जा क्षेत्रका विभिन्न रणनीतिक तथा निर्णायक निकायको सफल नेतृत्व सम्हाल्दै आएका छन् । विद्युत् विकास विभागको महानिर्देशकका रूपमा उनले पटक-पटक गरी ५ वर्ष कुशलतापूर्वक विभागीय जिम्मेवारी पूरा गरे । यसबाहेक, विद्युत् नियमन आयोगको सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जा नीति महाशाखा, वैदेशिक महाशाखा, योजना तथा कार्यक्रम महाशाखामा रहे ।

कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको सचिवका रूपमा समेत उनले आफ्नो प्रशासनिक तथा प्राविधिक छाप छोडेका छन् । तत्कालीन समयमा उक्त मन्त्रालयको समग्र वित्तीय  प्रगति ९२ र ९४ प्रतिशत हासिल गरेको थियो ।

प्रशासनिक नेतृत्व

सिंहको व्यावसायिक यात्राको मजबुत आधार उनको प्राविधिक शिक्षा हो । उनले सन् १९९५ मा त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक (बिई) पूरा गरे । तत्पश्चात्, बेल्जियमको प्रतिष्ठित भ्रिज युनिभर्सिटी ब्रसेल्सबाट सन् २००० मा जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर (एमएस्सी) हासिल गरे  । प्राविधिक विज्ञतालाई दूरदर्शी व्यवस्थापनसँग जोड्ने क्रममा उनले सन् २०१८ मा एस कलेज अफ म्यानेजमेन्टबाट 'एग्जिक्युटिभ मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन' (इएमबिए) पूरा गरेका हुन् ।

यसरी हेर्दा, सिंहको शैक्षिक पृष्ठभूमि इन्जिनियरिङको प्राविधिक घेराभित्र मात्र सीमित छैन । जलस्रोत र सिभिल इन्जिनियरिङको गहिरो प्राविधिक ज्ञानमा व्यवस्थापकीय शिक्षाको संयोजनले आयोजना सञ्चालन, समग्र प्रशासन र नीतिगत विषय एकीकृत दृष्टिकोणका साथ बुझ्ने र कार्यान्वयन गर्ने बलियो सामर्थ्य प्रदान गरेको छ ।

सरकारी सेवाकै क्रममा उनले सार्वजनिक खरिद, ठेक्का व्यवस्थापन र विवाद समाधानजस्ता संवेदनशील विषयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहका गहन तालिमहरू प्राप्त गरेका छन् । एफआईडीआईसीका ठेक्का सर्तहरूको व्यवहारिक प्रयोगदेखि ठेक्का दाबी तथा विवाद निरुपणसम्म विशिष्ट तालिममा उनको सक्रिय सहभागिता रहँदै आएको छ । साथै, सार्वजनिक निकायका जिम्मेवार अधिकारीका लागि अत्यावश्यक मानिने सार्वजनिक खरिदसम्बन्धी उच्चस्तरीय तालिमसमेत उनले हासिल गरेका छन् ।

विभागीय नेतृत्व

सिंहको करिअरको सर्वाधिक सबल पक्ष राष्ट्रिय गौरव र रणनीतिक महत्त्वका ठूला आयोजनाको प्रत्यक्ष नेतृत्व गर्नु हो । उनले सरकारी सेवाका क्रममा मुलुकका ठूला जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाको नेतृत्व सम्हाल्दै आफ्नो कार्यकुशलता सिद्ध गरिसकेका छन् ।

उनले ३,००० मेगावाटको सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय तथा सुनकोशी–कमला डाइभर्सन आयोजना लगायतमा मुख्य नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

ठूला जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाको अध्ययन, विकास र व्यवस्थापकीय जटिलतामा प्रत्यक्ष संलग्न हुनु सिंहको सरकारी सेवाको एउटा विशिष्ट अनुभव मानिन्छ । विशेषतः नेपालको समृद्धिसँग जोडिएका दीर्घकालीन र रणनीतिक प्रकृतिका आयोजनामा हासिल गरेको यो व्यवहारिक अनुभवले उनको प्राविधिक तथा नीतिगत दायरा झनै फराकिलो र परिपक्व बनाएको बुझिन्छ ।

बहुआयामिक अनुभव

सिंहको अनुभव आयोजना निर्माण र भौतिक विकासको जगमा मात्र सीमित छैन । उनले तालकु मन्त्रालयको अति महत्त्वपूर्ण ऊर्जा नीति महाशाखाको नेतृत्व गर्दै नीति निर्माणको मञ्चमा पनि महत्त्वपूर्ण योगदान दिए । नीति निर्माणको उच्च तहमा काम गरेपश्चात् उनी विद्युत् नियमन आयोगको सचिव बने, जहाँ उनले करिब नौ महिना नियामक निकायको प्रशासकीय नेतृत्व सम्हाले ।

ऊर्जा क्षेत्रभित्र आयोजना विकास, सरकारी प्रशासन, नीति निर्माण र नियमनजस्ता फरक-फरक एवम् अन्तरसम्बन्धित तहमा काम गर्नु उनको करिअरको विशिष्ट पहिचान बन्यो । विभागमा आयोजना अनुमतिपत्र र आयोजना विकाससँग जोडिएका काम, मन्त्रालयमा दूरदर्शी नीति निर्माण, नियमन आयोगमा निष्पक्ष नियामकीय व्यवस्थापन र हाल लगानी बोर्डकोमा वैदेशिक तथा आन्तरिक लगानी व्यवस्थापनको जिम्मेवारी सबैको संयोजनले उनलाई ऊर्जा क्षेत्रको सम्पूर्ण चक्र नजिकबाट बुझ्ने र सञ्चालन गर्ने अनुभव प्रदान गरेको मान्न सकिन्छ ।

ऊर्जा कूटनीति

सिंहको अनुभव नेपालको आन्तरिक ऊर्जा प्रशासनमा मात्र सीमित नरहेर अन्तरदेशीय ऊर्जा कूटनीतिसम्म विस्तार भएको छ । नेपाल–भारत ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न उच्चस्तरीय कूटनीतिक तथा प्राविधिक संयन्त्रहरूमा उनले सफलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

नेपाल–भारत ऊर्जा सहकार्य अन्तर्गत क्रस-बोर्डर प्रसारण मास्टर प्लान तयार गर्ने संयुक्त प्राविधिक टोली (जेटिटी) मा उनले सह-नेतृत्वकर्ताको भूमिका निर्वाह गरे । यस्तै, संयुक्त कार्य समूह (जेडब्लुजी) को सह-नेतृत्वकर्ता, संयुक्त सञ्चालन समिति (जेएसटी) को सदस्य, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनासम्बन्धी संयुक्त प्राविधिक विज्ञ समूह (जेटिई) को सह-नेतृत्वकर्ताको कुशलतापूर्वक निर्वाह गरे ।

नेपालमा जलविद्युत् उत्पादन तीव्र गतिमा बढ्दै जाँदा क्षेत्रीय विद्युत् व्यापार, सीमा-पार प्रसारण पूर्वाधार र रणनीतिक ऊर्जा सहकार्यको महत्त्व उच्च बिन्दुमा पुगेको छ । यस्तो संवेदनशील र सम्भावनायुक्त परिस्थितिमा अन्तर्राष्ट्रिय संयन्त्रमा काम गरेको उनको गहन अनुभव नवनियुक्त सचिवका रूपमा आगामी भूमिकाका लागि एक दरिलो र निर्णायक आधार बन्ने छ ।

प्रशासनिक उचाइ

सिंहको करिअर, एक प्राविधिक इन्जिनियर कसरी आयोजना प्रमुख, विभागीय महानिर्देशक, मन्त्रालयको नीतिगत नेतृत्वकर्ता, प्रदेश सचिव, नियामक निकायको सचिव हुँदै लगानी बोर्ड र सर्वोच्च प्रशासनिक पद सचिवसम्म पुग्न सफल हुन्छ भन्ने प्रेरक दृष्टान्त हो । उनको पदोन्नतिले नेपालको प्राविधिक सेवाबाट सर्वोच्च प्रशासनिक नेतृत्वको शिखरसम्म पुग्ने यात्राको एक अनुकरणीय र गतिशील उदाहरण पेस गरेको छ ।

उनको सरकारी जिम्मेवारीको दायरामा जलविद्युत् आयोजना विकासदेखि जलस्रोत व्यवस्थापन, ऊर्जा नीति, नियमन, अन्तरसरकारी समन्वय र विशाल लगानी व्यवस्थापनसम्मका आयाम समेटिएका छन् । यही विषयगत विविधता र अनुभवको सघनता नै उनको प्रशासनिक यात्राको मुख्य सामर्थ्य बनेको छ ।

विशेषतः नेपालको ऊर्जा क्षेत्र अहिले उत्पादन विस्तारसँगै प्रसारण पूर्वाधारको निर्माण, अन्तरदेशीय विद्युत् व्यापार, निजी तथा वैदेशिक लगानी भित्र्याउने कार्य, द्रुत आयोजना कार्यान्वयन, सबल नियमन र चुस्त संस्थागत समन्वयसाथ अघि बढ्नुपर्ने संवेदनशील मोडमा छ । यस्तो महत्त्वपूर्ण समयमा प्राविधिक ज्ञान, आयोजना व्यवस्थापन, सार्वजनिक खरिद, नीतिगत स्पष्टता, नियामकीय अनुशासन र अन्तर्राष्ट्रिय ऊर्जा कूटनीतिमा समेत सबल सिंहले यस क्षेत्रलाई उचाइमा पुर्‍याउन सक्ने अपेक्षा गर्न सकिन्छ ।

अब सचिवका रूपमा उनको आगामी जिम्मेवारी जहाँ जुनसुकै निकायमा रहे पनि आफ्नो दशकौँ लामो प्राविधिक विज्ञता र समृद्ध प्रशासनिक अनुभवलाई देश विकासमा कसरी उपयोग गर्छन् भन्ने विषय बहुप्रतीक्षित छ । यद्यपि, अहिलेसम्मको यात्राले एउटा सत्यलाई स्पष्ट प्रमाणित गरिसकेको छ, उनको करिअर पदको औपचारिक क्रममात्र होइन । नेपालको ऊर्जा, जलस्रोत तथा अन्य पूर्वाधार विकासका हरेक रूपान्तरणकारी चरणसँग एकाकार हुँदै अघि बढेको एक निष्ठापूर्ण प्राविधिक-प्रशासनिक यात्रा हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३