काठमाडौं । एमभी दुगड ग्रुपले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी र पहिरो प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख सहयोग प्रदान गरेको छ ।
भदौ १० गते भोटेकोसी तथा त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोले पुर्याएको ठूलो धनजनको क्षतिको पुनर्स्थापना गर्न उक्त रकम सहयोग गरिएको हो । दुगड ग्रुप तथा यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीको स्वेच्छिक आर्थिक सहयोग समेटिएको एकमुष्ठ रकमको चेक अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ ।
ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले संयुक्तरूपमा चेक हस्तान्तरण गर्दै विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउने बाचा गरे । विपद्को सामना गर्न नेपाल सरकारसँग हातेमालो गर्दै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्न ग्रुप सधैं प्रतिबद्ध रहेको अध्यक्ष मोतीलाल दुगडले बताए ।
जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण यस्ता विनाशकारी विपद्हरू बढिरहेको सन्दर्भलाई ध्यानमा राख्दै दुगड ग्रुपले २०७८ सालदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । ग्रुपका अनुसार हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा राजमार्ग खण्ड, विद्यालय, प्रहरी एवम् सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलका बिरुवा रोपेर संरक्षण गरिएको छ । आगामी दिनमा पनि यस्ता वातावरणीय संरक्षणका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता गरिएको छ ।