काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो १०० दिने अवधिमा भएका उपलब्धिको विवरण सार्वजनिक गरेका छन् । आफूले पदीय जिम्मेवारी सम्हालेको १०० दिनपुगेपछि मंगलबार उनले यस अवधिको उपलब्धि सार्वजनिक गरेका हुन् । २०८१ चैत ११ गते शाक्य प्राधिकरणकाे कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
आफूले नेतृत्व सम्हालेपछि प्राधिकरणको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारलाई पहिलो प्राथमिकतामा राख्दै अघि बढाएको बताउँदै आएका शाक्यले यस अवधिमा १०४ सर्किट किलोमिटर प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गरी) र ३६६ एमभिएका सबस्टेशन विस्तार गरिएको विवरण प्रस्तुत गरेका छन् ।
यो विस्तारपछि हाल कुल ६ हजार ७ सय ६९ सर्किट किलोमिटर प्रसारण प्रणाली तथा १४ हजार १२९ एमभिए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको उल्लेख गरेका छन् ।
मार्गाधिकारभित्रको जग्गामा सौर्य विद्युत् तथा अन्य सामूहिक खेती प्रणाली विकासको अवधारणा अघि बढाएको, त्यस्ता जग्गा धनीलाई प्राधिकरणका आयोजनाहरूमा प्राथमिकताका साथ सेयर दिने व्यवस्थाका लागि पहल गरिएको उल्लेख गरेका छन् ।
उनका अनुसार यस अवधिमा दमौली–भरतपुर १३२ केभी प्रसारण लाइनको विद्युत् शक्ति बहाव गर्ने यस अघिको क्षमता ७० मेवा बाट वृद्धि गरी करिब १३० मेवा बनाइएको, ढल्केवर ४०० केभी सबस्टेशनबाट निकालिएको लोहारपट्टी तर्फको दुई वटा १३२ केभी लाइन बे मध्ये हाल प्रणालीलाई आवश्यक नरहेको १ वटा लाइन बे लाई ढल्केबरदेखि हेटौँडासम्मको निर्माणाधीन ४०० केभीको ढल्केबर सवस्टेशन नजिकको ४०० केभी टावरमा जोडी त्यहाँबाट निजगढसम्म निर्माण सम्पन्न भएको ४०० केभी लाइन मार्फत पुनः नजिकको पथलैया चन्द्रनिगाहापुर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा जोडी पथलैया १३२ केभी सस्टेसनसम्म करिब २०० मेगावाट विद्युत् प्रसारण गर्ने प्रसारण प्रणालीको निर्माणको लागि कार्य आरम्भ गरिएको उल्लेख गरेका छन् ।
त्यस्तै, पम्प स्टोरेज र ब्याट्री स्टोरेज आयोजनका लागि अध्ययन अघि बढाउनु पनि यो अवधिको उपलब्धि मानेका छन् ।
पूर्णपाठ