काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थाको शाख र इज्जतमा असर पर्ने गरी गलत प्रचार गरेको आरोप लगाएको छ । इपानले आज सोमबार (जेठ २५) गते एक विज्ञप्ति जारी गर्दै त्यस्तो आरोपको संस्थागतरूपमै खण्डन गरेको हो ।
उपमहासचिव दुलालले नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको, ‘विधान गायब पारिएको’ र ‘विधानविपरीत साधारणसभा गर्न लागिएको’ भनी लगाएको आरोपको संस्थाले ‘अनर्गल र कपोलकल्पित’ ठहर गरेको छ । त्यस्तो भ्रामक अभिव्यक्तिलाई इपानले संकीर्ण र स्वार्थप्रेरित प्रचारको संज्ञा दिएको छ ।
साधारणसभाको संघारमा बहालवाला पदाधिकारी (उपमहासचिव) बाट संस्थाको विश्वसनीयतामाथि प्रहार हुने गरी भ्रम फैलाइएको भन्दै इपानले यसको घोर भर्त्सना पनि गरेको छ । विज्ञप्तिमा भनिएको छ - भानुभक्त पोखरेलको संयोजकत्वमा गठित विधान संशोधन तथा पुनर्लेखन मस्यौदा समितिको प्रतिवेदन इपान सचिवालयमा सुरक्षित छ ।
औपचारिक रूपमा १५ जनाभन्दा बढी सरोकारवालासँग छलफल गरी तयार पारिएको प्रतिवेदन सुरक्षित रहेको अवस्थामा, जिम्मेवार पदमा रहेका व्यक्तिले नै ‘विधान हरायो’ भन्दै नकारात्मक सन्देश फैलाउनु पदीय मर्यादाविपरीत र ऊर्जा व्यवसायीको साझा संस्थालाई कमजोर बनाउने खेल भएको इपानको बुझाइ छ । इपानले यस्ता आरोपको जोडदार खण्डन गर्दै सम्पूर्ण ऊर्जा व्यवसायीलाई भ्रममा नपर्न आग्रह गरेको छ ।
पछिल्लो विवादको चुरो इपानको नेतृत्व चयन प्रक्रिया र विधान संशोधनसँग पनि जोडिएको देखिन्छ । जेठ २५ गते बसेको इपानको २०३औँ बैठकले इपान विधान २०७८ लाई संशोधन गरी आगामी साधारणसभामा एउटा दूरगामी प्रस्ताव लैजाने निर्णय गरेको छ ।
जसअनुसार, अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विद्यमान व्यवस्थाको अन्त्य हुनेछ । विधान संशोधनपश्चात् एक कार्यकाल कार्यसमितिमा रहेका र विधानअनुसार योग्य जुनसुकै व्यक्तिले पनि अध्यक्षको उम्मेदवार हुन पाउनेछन् । अन्य सबै पदमा खुला रूपमा उम्मेदवारी दिन पाउने गरी प्रस्ताव लैजान लागिएको जानकारी दिइएको छ ।
यसअघि २०८० साल जेठ ३२ गते सम्पन्न २१औँ साधारणसभाले संस्थालाई 'महासंघ'को रूपमा रूपान्तरण गर्ने गरी मस्यौदा सुझाव पारित गरेको थियो । २३औँ साधारणसभाले सोको कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी समेत दिएको थियो ।
कानुनी वा प्राविधिक जटिलताका कारण तत्काल महासंघ बनाउन नसकिने निष्कर्ष निकाल्दै गत वैशाख ४ गते सम्पन्न २००औँ कार्यसमिति बैठकले हालकै विधान (२०७८) अनुसार नै २४औँ साधारणसभा एवम् आठौँ अधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो । सो बैठकमा सहभागी पदाधिकारीले नै अहिले बाहिर आएर प्रक्रियाप्रति प्रश्न उठाउनुले उनीहरूको नियतमाथि नै गम्भीर प्रश्न खडा गरेको कार्यसमितिका एक सदस्यले बताए ।
इपानले आगामी जेठ २९ गते हुन लागेको साधारणसभा र अधिवेशन पूर्ण रूपमा वैधानिक र कार्यसमितिकै पूर्वनिर्णय बमोजिम हुन लागेको प्रष्ट पारेको छ । यसका लागि गत जेठ ९ र १० गते नै सार्वजनिक रूपमा सूचना प्रकाशित भइसकेको जनाइएको छ ।
७०० भन्दा बढी कम्पनी सदस्यहरू आबद्ध भइसकेको नेपालको ऊर्जा क्षेत्रकै सबैभन्दा ठूलो र प्रतिष्ठित संस्था इपान विधानको परिपालनामा संवेनदशील रहेको भन्दै कार्यसमितिले सम्पूर्ण ऊर्जा व्यवसायीलाई आन्तरिक कलह र भ्रमको पछि नलागी चुनावी प्रक्रियामा सहभागी भई आठौँ अधिवेशनलाई भव्यरूपमा सफल पार्न आह्वान गरेको छ ।