नुवाकोट । रातमाटे–गल्छी २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत टावर निर्माणका लागि आवश्यक जग्गा स्थायी रूपमा प्राप्त गर्ने प्रक्रिया सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, नुवाकोटले सूचना प्रकाशित गर्दै जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आवश्यक जग्गा अधिग्रहण गरिने जनाएको हो ।
नुवाकोट र धादिङमा विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा उक्त प्रसारण लाइन आयोजना निर्माण भइरहेको छ । प्रशासन कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित जग्गाधनी तथा सरोकारवालाले मुआब्जा दाबीका लागि आवश्यक प्रमाणसहित निवेदन दिन सक्नेछन् । अधिग्रहण आवश्यक नपर्ने आधार भए त्यससम्बन्धी विवरण समेत तोकिएको म्यादभित्र पेस गर्न आग्रह गरिएको छ ।
जग्गाधनीले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँट (रातमाटे) मा रहेको रातमाटे–गल्छी २२० केभी प्रसारण लाइन आयोजनाको साइट कार्यालयमा आवेदन दिने सक्ने जताइएको छ । प्रसारण लाइन निर्माणपछि नुवाकोट र धादिङमा विद्युत् आपूर्ति थप सुदृढ हुने अपेक्षा गरिएको छ ।