काठमाडौँ । नयाँ दिल्लीमा नेपाल–भारत ऊर्जा सह–सचिवस्तरीय संयुक्त कार्यदल (जेडब्ल्युजी) को १२औँ बैठक सुरु भएको छ । यसअघि मंगलबार र बुधबार बिहान चलेको संयुक्त प्राविधिक समूह (जेटिटी) को बैठक सकिएपछि जेडब्ल्युजीको बैठक सुरु भएको हो ।
बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव सन्दीपकुमार देव र भारतको विद्युत् मन्त्रालयका सह–सचिव डा. साइ बाबाले गरेका छन् ।
बैठकमा खास गरी इनरुवा (नेपाल)–पूर्णिया (भारत) र दोदोधारा (नेपाल)–बरेली (भारत) ४०० केभी सीमापार प्रसारण लाइन निर्माणको मोडालिटीका विषयमा छलफल हुने ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए । उक्त लाइनहरू निर्माणका विषयमा संयुक्त प्राविधिक समूहको बैठकमा छलफल भएपछि त्यसको निचोडसहित संयुक्त कार्य समूहको बैठक बसेको हो ।
उक्त दुई सीमापार प्रसारण लाइनको मोडालिटीबारे प्राविधिक जेटिटी र जेएसडब्ल्यु बैठकबाट टुङ्गो लगाउन नसकिएकै कारण दुवै देशको ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालक समिति (जेएससी) को बैठक बस्न सकेको थिएन ।
बैठकले आवश्यकताका आधारमा ढल्केबर–मुजफ्फरपुर ४०० केभीसहितका सीमापार प्रसारण लाइनकाे क्षमता वृद्धिका विषयमा समेत निर्णय गर्ने बताइएकाे छ ।