काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिका अन्तर्गत पहिचान भएको १८० मेगावाटको आँधीखोला जलाशय जलविद्युत् आयोजना विकास गर्न ‘आँधीखोला जलाशय आयोजना सरोकार समिति’ गठनका लागि प्रस्ताव गरिएको छ । पूर्वकानुन मन्त्री धनराज गुरुङ मुख्य संरक्षक रहने गरी समिति प्रस्ताव गरिएको छ ।
समितिको संरक्षकमा पूर्वमन्त्री पद्माकुमारी अर्याल, सांसदहरू मुक्तिप्रसाद पाठक, राजु थापा, पूर्वसांसद महेन्द्र थापा, गण्डकी प्रदेशकी पूर्वमन्त्री सरस्वती तिवारी र पूर्वप्रदेश मन्त्री प्रकाश मल्ल रहेका छन् । कार्य–प्रगतिका आधारमा लोकतान्त्रिक विधिबाट एक वर्षभित्र समितिको अध्यक्ष चयन गर्ने गरी हाललाई उक्त समितिको प्रस्ताव गरिएको जनाइएको छ ।
त्यसैगरी, प्रस्तवित समितिको उपाध्यक्षमा प्रदेशसभा सदस्य महेश भट्टराई र भोजराज अर्याल रहेका छन् । समितिले स्थानीय र आयोजनाबीच समन्वय तथा सहजीकरण गर्ने, आयोजनाका राम्रा पक्ष र सुधार गर्नुर्ने पक्षबारे जानकारी गराउने र सबै स्थानीयलाई सजग गराउँदै आयोजना विकासको वातावरण तयार गर्ने पनि जनाइएको गल्याङबासी प्रस्तावक महादेव भट्टराईले जानकारी दिएका छन् ।
गण्डकी क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि मुख्य मेरुदण्ड मानिएको आँधीखोला जलाशय विकास गर्ने विषयमा दशकभन्दा लामो समयदेखि छलफल तथा बहस हुँदै आएको छ । गल्याङ नगरपालिका अन्तर्गत तल्लो गल्याङमा बस्ती विकास नहुँदै सुरु भएको यो बहस अहिले त्यहाँ बाक्लो बसोबास भइसक्दा समेत अगाडि बढ्न सकेको छैन । मुख्यतः यो आयोजना विकासको चुनौती तल्लो गल्याङको बस्ती स्थानान्तरण र पुनर्वास नै देखिएको छ ।
समिति गठनका लागि गरिएको प्रस्तावको पूर्ण विवरण तल हेर्नुहोस्