दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ मा ३ वटा जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिका साथ भइरहेको छ । निर्माणाधीन कुल ३०.५ मेगावाट क्षमताका यी जलविद्युत् आयोजनाहरूले अबको ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका छन् ।
वडाको पूर्वी क्षेत्रमा पर्ने साँघु खोलामा हिमपर्वत हाइड्रोपावर कम्पनीले २० मेगावाटको साँघु खोला र ५.५ मेगावाटको साँघु खोला–१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, सोही वडाको पश्चिममा पर्ने साँघु खोलामा कालिञ्चोक हाइड्रोपावर लिमिटेडले ५ मेगावाटको साँघु (सोरुङ) खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । वडाको पश्चिमतिर भने यो खोलालाई कालिञ्चोक खोला र तामाकोसी पनि भन्ने गरिन्छ । यो कालिञ्चोक गाउँपालिकाको सिमाना हुँदै बग्ने खोलासमेत हो ।
नयाँ वर्षसँग साँघु खोला–१ ले उत्पादन थाल्ने
हिमपर्वतले साँघु खोला र स्याँखु खोलाको दोभानभन्दा ३ सय मिटर माथिल्लो तटमा बाँध बाँधेर खोलाको पानी पेगु दोभानमा खसाली ५.५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी आयोजना निर्माण गरिएको छ । उक्त आयोजनाको बाँधमा स्याँखु खोलाको पानी समेत फर्काएर मिसाउने योजना छ ।
आयोजनाको ग्रह हेड १४९ मिटर छ । २ हजार ३१२ मिटर पेनस्टक पाइप रहनेमा यसको जडान कार्य अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाको बाँध क्षेत्रका संरचना निर्माण (हेडवर्क्स) को काम पूरा भएको छ । विद्युत्गृहमा उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगको छ । विद्युत् जोड्नका लागि स्वीचयार्डको काम डेढ महिनाभित्र पूरा गरेपछि नयाँ वर्षसँगै विद्युत् परीक्षण सुरु गर्ने लक्ष्य रहेको आयोेजनाका प्रमुख सुनिल रेग्मीले जानकारी दिए । विद्युत् प्रसारणका लागि पेगु दोभानदेखि सोरुङ खोलासम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको काम समेत भइरकेको छ ।
उक्त ५.५ मेगावाटको आयोजनाको विद्युत्गृहबाट निस्केको पानीलाई पेगु दोभानबाट सोझै पेनस्टकबाटै २० मेगावाटको साँघु खोला जलविद्युत् आयोजनाको हेडपोनमा लगिने गरि आयोजनाको डिजाइन गरिएको छ । साँघु खोला र पेगु खोलाको दोभानमा पेगु खोलाको पानीलाई फर्काएर एउटा बालुवा थिग्रयाउने पोखरीबाट पेनस्टक पाइपमार्फत सोरुङ खोलामा लगेर विद्युत् उत्पादन हुने छ । आयोजनाको ग्रस हेड ३७३ मिटर रहेको छ ।
यो आयोजनाको ५ हजार ८१० मिटर पेनस्टकपाइप जडान गर्नुपर्नेमा ४ हजार ७ सय २० मिटर जडान पूरा भइसकेको आयोजना प्रमुख रेग्मीले जानकारी दिए । सोरुङ खोलामा विद्युत्गृह पूरा गरी उपकरण जडान र स्वीच्याड निर्माण समेत जारी छ ।
विगुगाउँपालिका–८ मा हाल निर्माणाधीन ३ वटै आयोजनाको विद्युत् जोड्न मिल्ने गरी स्वीच्याड निर्माण भइरहेको छ । यहाँ भविष्यमा निर्माण हुने जलविद्युत् आयोजनालाई समेत लक्षित गरी स्वीच्यार्ड निर्माण गरेर १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ८ किमी टाढा रहेको सिंगटी सबस्टेशनमा जोडिने छ । सोरुङ खोलादेखि सिंगटीसम्मको १३२ केभीको २५ वटा टावर निर्माण गरी लाइन तान्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।
आयोजना निर्माणमा खटिएका हिमपवर्त हाइड्रोपावर लिमिटेडका इञ्जिनियर प्रविण घिमिरेका अनुसार दुवै आयोजनाको सबै काम समानान्तर गतिमा भइरहेको जानकारी दिए । ५.५ मेगावाटको काम अन्तिम चरणमा पुगेकाले नयाँ वर्षसँगै राष्ट्रिय प्रसारणमा जोडिने उनले दाबी गरे । २० मेगावाटको दोस्रो आयोजना पनि सबै काम पूरा गरी २०८२ साउन अन्तिमसम्म पूरा हुने बताए ।
दुवै आयोजनाको सिभिलतर्फ निर्माण मस्तिङ हिमाली जेभीले गरिरहेको छ । इलेक्ट्रोमेकानिकलतर्फ फ्लोबेल इनर्जी प्रालि भारत, हाइड्रोमेकानिकलतर्फको काम डाउन हाइड्रो मस्तिङ जेभी र प्रसारण लाइनमा सम्प्रधा पावर ट्रेडिङ प्रालिले काम गरिरहेका छन् ।
हिपर्वतले निर्माण गरिरहेको २० मेगावाटका आयोजनाको लागत ३ अर्ब ९० करोड रहेको छ भने ५.५ मेगावाटको आयोजनाका लागि १ अर्ब ५ करोड लागत अनुमान गरिएको छ । दुवै आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र माछापुछ«े बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपुँजी लगानी ७०ः३० को अनुपातमा छ । हिमपर्ततका यी आयोजनामा अवसर इक्वीटी डाइभर्सीफाइड फण्डले ३९ करोड स्वपुँजी लगानी गरेको छ ।
हिमपर्वत हाइड्रोपावरले आयोजनामा पुँजी जुटाउन ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।
सम्झौता अनुसार १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । दुवै आयोजनाबाट वार्षिक १४९ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
बर्खाअघि नै उत्पादन थाल्ने कालिञ्चोकको लक्ष्य
कालिञ्चोक हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५ मेगावाटको साँघु (सोरुङ) खोला जलविद्युत् आयोजनाको विद्युत्गृह समेत सोरुङ खोलामै निर्माणाधीन छ । यस आयोजनाको स्विचयार्ड २० मेगावाट र ५ मेगावाटका दुई आयोजनाको बीचमा रहने छ । यो आयोजना अन्तर्गत थामीचागु र कालिञ्चोक गाउँपालिका– १ को बीचको खोला फर्काएर पानी सोरुङ खोलासम्म ल्याउन ४ हजार ५ सय मिटर पेनस्टक पाइप जडान हुने छ । यो आयोजनाले विगु–८ को पश्चिमतिरबाट बहने साँघु खोलाको पानी फर्काएर विद्युत् उत्पादन गर्ने छ ।
कालिञ्चोक हाइड्रोपावर लिमिटेडकी अध्यक्ष इन्दिरा पन्तले आउँदो बर्खाअघि नै आयोजनाबाट विद्युत् उत्पादन गर्ने गरी काम जारी रहेको जानकारी दिइन् । पाइप लाइनका लागि सडक निर्माण थामीचागुको भीरमा गर्नुपर्ने भएकाले केही कठिन र ढिला भए पनि अब सडक निर्माणको काम सकिन लागेकाले कामले तिव्रता पाउने जानकारी दिइन् ।
उनका अनुसार हेडवर्क्सका बाँध, इन्टेक, डिस्यान्डरको काम पूरा भएको छ । विद्युत् गृहको काम पनि एक महिनाभित्रै पूरा गरेर उपकरण जडानको काम सुरु हुने छ । विद्युत्गृहका उपकरणहरू निर्माणस्लतसम्म ढुवानी भइसकेका छन् । ३ हजार मिटर पाइप जडान र विद्युत्गृहका उपकरण मात्रै जडानको काम भएकाले जटिल कामहरू पूरा भएको उनले बताइन् । ३२५ मिटर ग्रस हेड रहेको आयोजनाको लागत अनुमान १ अर्ब रुपैयाँ रहेको छ ।
आयोजना प्रभावितसहित सर्वसाधरणका लागि सेयर जारी गर्न कम्पनीले आरबिबी मर्चेन्टलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेर धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । कालिञ्चोक हाइड्रोपावरको ६ लाख कित्ता साधारण सेयर निष्काशन हुने छ ।
विगु गाउँपालिकाका पूर्व अध्यक्ष युधिष्ठिर खड्काले जलविद्युत् आयोजना निर्माणले स्थानीय स्रोतको सदुपयोग हुनुका साथै सीप प्रवद्र्धन र स्थानीयलाई रोजगारीको समेत अवसर भएको बताए ।