काठमाडौँ । संखुवासभाको धर्मादेवी नगरपालिका र मादी नगरपालिकामा प्रस्ताव गरिएको ५ मेगावाटको माथिल्लो माया खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणसँग वैशाख २६ गते नै उक्त पिपिए सम्पन्न भएको प्रवर्द्धक कम्पनीका प्रबन्ध निर्देशक डा. कृष्णप्रसाद दुलालले ऊर्जा खबरलाई जानकारी दिए ।
उनका अनुसार आयोजना अन्तर्गत उक्त स्थानमा पर्ने माया खोलामा ३ मिटर अग्लो तथा २० मिटर लामो बाँध निर्माण गरी खोलाको पानी फर्काइने छ । १.४ मिटर ब्यास भएको २ हजार ५१५ मिटर लामो हेडरेस पाइपमार्फत पानी लगेर विद्युत् उत्पादन गरिने छ ।
आयोजनाको लागत झण्डै ९६ करोड रुपैयाँ रहने अनुमान गरिएको छ । यसमध्ये आयोजनाका प्रवर्द्धकबाट ३० प्रतिशत स्वपुँजी लगानी र ७० प्रतिशत बैंकको ऋण लगानी रहेन छ ।
नदी प्रवाहमा आधारित आयोजनाबाट वार्षिक २९.६९ गिगावाट घन्टा ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने विद्युत् १०.५ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत बसन्तपुर सबस्टेशनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ ।
आयोजना अब चाँडै निर्माणमा जाने र निर्माण सुरु भएको ३० महिना (साढे २ वर्ष) भित्र पूरा गरी बिजुली बाल्ने लक्ष्य रहेको प्रबन्ध निर्देशक दुलालले बताए ।