काठमाडौँ । पिस इनर्जी लिमिटेडले निर्माण गरिरहेको २८.१ मेगावाटको अप्पर काबेली खोला जलविद्युत् आयोजनाको करिब ७० प्रतिशत निर्माण पूरा भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर बहने काबेली खोलाको पानी सदुपयोग गर्ने गरी निर्माणाधीन आयोजनाको निर्माण सुरु भएको करिब २६ महिनामै उल्लेख प्रगति देखिएको हो ।
हालसम्म आयोजनाको बाँध संरचनाअन्तर्गत इन्टेक, अन्डर स्विस निर्माण पूरा भएको र वेरको निर्माण ५० प्रतिशत सकिएको प्रबर्द्धक कम्पनीका निर्देशक एवं आयोजना व्यवस्थापक प्रकाश ढुङ्गानाले ऊर्जा खबरसँग बताए । २०८० पुसदेखि निर्माण सुरु भएको आयोजनाको हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल उपकरणको आपूर्ति तथा जडान, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडान जस्ता मुख्य कार्यमा समेत उल्लेख्य प्रगति हासिल भएको उनको भनाइ छ । ‘छोटो अवधिमै आयोजनाको समग्र निर्माण प्रगति करिब ७० प्रतिशत पुगिसकेको छ,’ उनले भने, ‘आउँदो दशैँसम्म बत्ती बाल्ने लक्ष्यका साथ काम अघि बढाइरहेका छौँ ।’
उनका अनुसार कुल ५ हजार २०० मिटर लामो आयोजनाको मूख्य सुरुङ मध्ये १ हजार ७०० मिटर सरुङ निर्माणका सबै काम पूरा भई तयारी अवस्थामा पुगिसकेको छ । अब अब ३३० मिटर मात्र छिचोल्न बाँकी छ । ९७५ मिटर लामो पेनस्टक जडानको काम समेत करिब ५० प्रतिशत सकिएको छ भने विद्युत्गृह निर्माणतर्फ करिब ७५ प्रतिशत निर्माण पूरा भइसकेको छ ।
आयोजनाका लागि आवश्यक इलेक्ट्रो–मेकानिकल उपकरणहरू (टर्वाइन, २ वटा जेनेरेटरलगायत) को उत्पादन पूरा भई अब आयोजनास्थलसम्म ल्याउने काम सुरु भएको छ । आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन गर्ने मिति (आरसिओडी) २०८३ माघ तोकिएको छ । यद्यपि, तोकिएको समयभन्दा करिब २ महिनाअघि (२०८३ कात्तिकभित्र) नै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ दु्रत गतिमा काम भइरहेको उनले जानकारी दिए ।
आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) २०८० असारमामा भएको थियो । जसअनुसार सुख्खायामको ६ महिना प्रतियुनिट ८.४० रुपैयाँ र वर्षाका ६ महिना ४.८० रुपैयाँ विद्युत्को दर तय गरिएको छ । आयोजनाबाट वार्षिक १६९.७६ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसमध्ये सुख्खायाम (जनवरीदेखि जुनसम्म) ५२.१७ र वर्षायाम (जुलाइदेखि डिसेम्बरसम्म) ११७.५८ गिगावाट घन्टा विद्युत् उत्पादनको लक्ष्य छ ।
उत्पादित विद्युत् १४ किलोमिटर लामो १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गरी अमरपुर सबस्टेशनमा जोड्ने योजना छ । प्रसारण लाइन निर्माणको कामसमेत दशैँअघि नै पूरा भइससक्ने आयोजना व्यवस्थापक ढुङ्गानाले बताए ।
आयोजनाको सिभिल संरचना निर्माणको काम इन्फ्रा प्रो कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ । यो कम्पनीले आयोजनाको सुरुङ, बाँध संरचना, विद्युत्गृह, प्रसारण लाइन निर्माणलगायतका काम गरिरहेको छ । हाइड्रो मेकानिकल निर्माणको काम सिई हाइड्रो–मेकानिकल कम्पनीले गरिरहको छ भने इलेक्ट्रो–मेकानिकल उपकरणको आपूर्ति, जडान तथा सञ्चालनको जिम्मेवारी फ्लोवेल इनर्जी प्रालि इन्डियाले लिएको छ ।
करिब ५ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवर्द्धकको स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको छ ।