काठमाडौँ । खोटाङमा निर्माणाधीन ४ मेगावाटको तल्लो मध्यरावाखोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण हुने भएको छ । जिल्लाको ऐंसेलुखर्क र केपिलासगढी गाउँपालिकालाई जोड्ने गरी उक्त प्रसारण लाइन निर्माण गरिने भएको हो ।
यस आयोजना निर्माणका लागि अनुमति पत्रको माग गर्दै प्रवर्द्धक लोअर मिड रावाखोला हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ । विभागको सूचना अनुसार विद्युत् आयोजनाको स्विचयार्डदेखि केपिलासगढी गाउँपालिका–४ स्थित नेपाल विद्युत प्राधिकरणको बाक्सिला सबस्टेसनसम्म ६.७३७ किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइन निर्माण गरिने छ ।
प्रसारण लाइन निर्माणका लागि कुल ४.०४२८ हेक्टर जमिन आवश्यक पर्नेछ भने विद्युत मार्गको अधिकार क्षेत्र (राइट अफ वे) भित्र ४.०३०५ हेक्टर जमिन रहने छ । आयोजना अन्तर्गत जम्मा १२३ वटा पोलहरू ठड्याइने र यसमा ‘एसिएसआर डग’ कन्डक्टर (तार) को प्रयोग गरिने छ, जसमा पोलहरू बीचको औसत दूरी ८० मिटर कायम रहने छ ।
प्राविधिक दृष्टिकोणबाट यसको क्षेत्राधिकार मध्य बिन्दुबाट दायाँ–बायाँ ३/३ मिटर गरी जम्मा ६ मिटर कायम गरिने सूचनामा उल्लेख छ । प्रवर्द्धक कम्पनीले यो निर्माण कार्य करिब ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी र वायु प्रदूषण जस्ता वातावरणीय पक्षमा उल्लेख्य प्रतिकूल असर नपर्ने गरी काम गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
आयोजनाबाट कुनै उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने देखिए ३५ दिनभित्र विद्युत विकास विभाग वा प्रवर्द्धक कम्पनीमा लिखित राय प्रतिक्रिया दिन आह्वान गर्दै विभागले मंगलबार सूचना जारी गरेको छ ।