काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाटको सुपर सेती जलविद्युत आयोजनाका लागि ऋण लगानी जुटेको छ । नेको इन्स्योरेन्सको लगानी रहेको कम्पनी एसएन इनर्जीले निर्माण गर्न लागेको उक्त आयोजनामा सानिमा बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जा उपलब्ध हुने भएको हो ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा सिद्धार्थ बैंक समेत गरी दुई बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने भएका हुन् । यससम्बन्धी आयोजनाको प्रवर्द्धक कम्पनी र ऋण लगानीको अगुवाकर्ता बैंकबीच शुक्रबार साँझ सहवित्तीयणकरण ऋण लगानी सम्झौता भएको छ ।
सम्झौता अनुसार आयोजनामा सानिमा बैंकले २ अर्ब ५० करोड र सिद्धार्थ बैंकले १ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गर्ने छन् । आयोजनाको कुल लागत ५ अर्ब ४ करोड रुपैयाँ अनुमान गरिएको छ । यस अनुसार आयोजनाको विद्युत्को प्रतिमेगावाट लागत २१ करोड रूपैयाँ पर्ने देखिएको छ । यद्यपि, स्तरोन्नतिपश्चात प्रतिमेगावाट लागत झण्डै २ करोडले घटेर प्रतिमेगावाट १९ करोड हुने जनाएको छ । आयोजनामा २५ प्रतिशत प्रवद्र्धकको स्वपुँजी र ७५ प्रतिशत बैंक श्रण लगानीको हिस्सा छ ।
गत फागुन १८ गतेबाट निर्माण सुरु भएको आयोजनालाई कम्पनीले निर्माण अवधिभित्रै ३० मेगावाटमा स्तरोन्नति गर्ने प्रक्रियासमेत प्रारम्भ गरिसकेको छ। परियोजनाको निर्माण अवधि ३ वर्षको हुने र २०८४ कात्तिकबाट उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले राखिएको छ ।
आयोजनामा संस्थापक लगानीकर्तामा नेको इन्स्योरेन्सको २० प्रतिशत पुँजी लगानी गरेको कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नेको इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले प्रतिनिधित्व गरिरहेको छ।