विद्युत अपडेट

  • प्राधिकरण : ८७७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६५४ मे.वा.घन्टा
  • आयात : १४९ मे.वा.घन्टा
  • निर्यात : ९५६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५५२८४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७०९ मे.वा.
२०८२ साउन १, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । संखुवासभामा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना विकास गर्न विकासकर्ता एसजेभिएन लोअर अरुण डेभलपमेन्ट कम्पनी प्रालिले विद्युत् विकास विभागसँग अनुमतिपत्रको माग गरेको छ । यसका लागि कम्पनीले विभागमा दरखास्त पेश गरेको छ ।

उक्त आयोजना विकास गर्न सन् २०२३ जुन १ मा लगानी बोर्ड र विकासकर्ता कम्पनीबीच परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न भएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (एसइआइए) प्रतिवेदन २०८० कात्तिक १४ गते वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरिसकेको छ ।

प्रतिवेदनहरू अनुसार संखुवासभाको चिचिला र सिलिचोङ गाउँपालिका, खाँदबारी नगरपालिका तथा भोजपुरको साल्पासिलिचो गाउँपालिका र षडानन्द नगरपालिका भएर बग्ने अरुण नदीको पानी सदुपयोग गर्ने गरी आयोजना निर्माणको प्रस्ताव गरिएको छ । 

विकासकर्ता कम्पनीको मातृ कम्पनी सतलज जलविद्युत् निगमको सहायक एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालिले नै निर्माण गरिरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको टेलरेसबाट आउने पानीलाई नै प्रयोग (ट्याप) गरी विद्युत् उत्पादन गर्ने भएको हो । यसका लागि अरुण तेस्रोले छोड्ने पानीलाई २९.५ मिटर चौडा, २८ मिटर अग्लो तथा ६६.४ मिटर लामो हेडपोन्ड निर्माण गरी अग्रानुक्रम सञ्चालन (ट्यान्डेम अपरेसन) प्रारुपमा विद्युत् उत्पादन गरिने जनाइएको छ ।

आयोजनाको हेडपोन्डबाट निस्किने पानीलाई इन्टेकमार्फत १७ हजार ४०० मिटर (१७ किलोमिटर ४०० मिटर) लामो तथा १०.५ मिटर व्यासको मुख्य सुरुङ (हेडरेस टनेल), ३३.८४ मिटर ब्यासको सर्जसाफ्ट, ५.८५ मिटर र ४.१४ मिटर व्यास भएको २ वटा स्टिल प्रेसर साफ्ट हुँदै अरुण नदीको बायाँ किनारामा रहने सतही विद्युत्गृहमा लगेर विद्युत् उत्पादन गरिने छ । 

आयोजनाबाट वार्षिक सरदर २९०१.०२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने आकलन गरिएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली अरुण–३ जलविद्युत् आयोजनाको ४०० केभी प्रसारण लाइनमा २ किलोमिटर लामो ‘लुप इन लुप आउट’ प्रसारण लाइनमार्फत ४०० केभीको ढल्केवर सबस्टेसनमा जोड्ने योजना छ ।

आयोजनाको निर्माण सुरु भएको ५ वर्षभित्र सक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माणका क्रममा कुनै उल्लेखनीय वातावरणीय प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लगानी बोर्डको कार्यालय वा विकासकर्ता कम्पनीको कार्यालयमा लिखित राय तथा प्रतिक्रिया पेश गर्न विभागले शुक्रबार सूचनामार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३