काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्देशक द्वय किरणकुमार श्रेष्ठ र छवि गैरेको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार दुवैको जिम्मेवारी हेरफेर गरिएको हो ।
प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका श्रेष्ठलाई केन्द्रीय कार्यालय अन्तर्गत कर्पोरेट विभागमा सरुवा गरी उक्त स्थानमा गैरेलाई पठाइएको हो । यसअघि गैरे रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
श्रेष्ठ प्राधिकरणमा सबैभन्दा वरिष्ठ निर्देशकमा पर्छन् । उनी उपकार्यकारी निर्देशकमा बढुवा हुने सूचीमा समेत छन् । तनहुँको जिम्मेवारीमा जानुअघि उनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । सिभिल इन्जिनियर श्रेष्ठले प्राधिकरणले लमजुङमा निर्माण गरेको ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट सरकारी सेवा सुरु गरेका थिए ।
निर्देशक गैरेले रसुवागढीमा आउनुअघि निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा काम गरेका थिए । लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनामा काम गरेको अनुभव पनि उनीसँग छ । २०५८ सालमा ७ तह (करार) बाट विद्युत् प्राधिकरणमा प्रवेश गरेका उनले २०६० सालमा प्राधिकरणमा स्थायी नियुक्ति पाएका थिए ।