मान्मा । नेपाल विद्युत् प्राधिकरणले कालीकोटको रास्कोट नगरपालिका–६ नमुना बस्तीमा ३३ केभी सबस्टेसन निर्माण गर्न लागेको छ । जसको लागत करिब ५ करोड रुपैयाँ अनुमान गरिएको छ ।
सबस्टेसन निर्माणपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुर्याउन सकिने प्राधिकरण मान्मा वितरण केन्द्रका इन्जिनियर रमेश शाहीले बताए । ‘प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुने छैन, कालीकोटको रास्कोटमा मात्र नभएर बाजुराको पूर्वी क्षेत्रमा पनि विद्युत् पहुँच विस्तार हुनेछ’, उनले भने ।
रास्कोटमा हाल ११ केभी वितरण लाइनबाट विद्युत् वितरण भइरहेकोमा गुणस्तरीय आपूर्तिका लागि ३३ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माण अगाडि बढाइएको केन्द्रले जानकारी दिएको छ । सबस्टेसन बनेपछि विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।