काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले नुवाकोटमा निर्माणाधीन रातमाटे सबस्टेसनमा कार्यरत ठेकेदार कम्पनीका कर्मचारीलाई मानव बेचबिखन नियन्त्रण (सि–टिआइपी) तथा महिला तथा बालबालिकाविरुद्ध हुने यौन दुर्व्यवहार र हिंसा (भिएडब्लुसी) सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । फागुन ४ र ५ गते आयोजित उक्त नियमित तालिम टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनीका कर्मचारी र व्यवस्थापकलाई लक्षित थियो ।
सो कम्पनी रातमाटे सबस्टेसन निर्माणको ठेकेदारका रूपमा कार्यरत छ । एमसिए–नेपालका अनुसार कार्यस्थल तथा परियोजना प्रभावित समुदायमा सुरक्षित, मर्यादित र सम्मानजनक वातावरण सुनिश्चित गर्नु तालिमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रममा सहभागीलाई कार्यस्थलमा मानव बेचबिखन, यौन दुर्व्यवहार तथा लैङ्गिक हिंसा जस्ता जोखिमहरू पहिचान गर्ने, त्यसको रोकथाम गर्ने र आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विषयमा जानकारी दिइएको थियो ।
साथै, कुनै पनि प्रकारको दुर्व्यवहार, शोषण वा अनियमितता देखिएमा उपलब्ध उजुरी तथा रिपोर्टिङ संयन्त्रमार्फत कसरी जानकारी गराउने भन्ने विषयमा पनि सहभागीहरूलाई प्रशिक्षण दिइएको जनाइएको छ। परियोजना कार्यान्वयनका क्रममा श्रमिक, महिला, बालबालिका तथा स्थानीय समुदायको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता तालिमहरू नियमित रूपमा सञ्चालन गरिँदै आएको एमसिसी–नेपालले जनाएको छ ।
दुईदिने तालिममा कुल २८ जना सहभागी भएका थिए । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को सहयोगमा कार्यान्वयन भइरहेको नेपाल कम्प्याक्ट अन्तर्गतका विद्युत् पूर्वाधार आयोजनाहरूमा सामाजिक तथा लैङ्गिक सुरक्षासम्बन्धी मापदण्ड पालना सुनिश्चित गर्न यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइँदै आएको एमसिए–नेपालले जनाएको छ ।