काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा झण्डै १ अर्ब १७ अर्ब रुपैयाँको पेट्रोलियम इन्धन भित्रिएको छ । चालु आवको साउनदेखि पुस महिनासम्म कूल १ खर्ब १६ अर्ब ९० करोड ५७ लाख ३ हजार रुपैयाँको पेट्रोल, डिजेल, मटीतेल र एलपिजी (लिक्युफाइड पेट्रोलियम ग्यास) भित्रिएको छ ।
यो गत आव (२०८०÷८१) वर्षको यही अवधि (पहिलो ६ महिना) को तुलनामा झण्डै १० अर्ब रुपैयाँले कम आयात हो । गत आवमा पेट्रोल, डिजेल, मटीतेल र एलपी ग्यास गरी कुल १ खर्ब २७ अर्ब रुपैयाँको पेट्रोलियम इन्धन आयात भएको थियो । चालु वर्ष यी ४ प्रकारका पेट्रोलियम इन्धन आयातमा लाग्ने भन्सार शुल्कमार्फत सरकारले ५१ अर्ब ८ करोड ३१ लाख ९१ हजार राजस्व संकलन गरेको छ ।
यी इन्धन मध्ये सबैभन्दा बढी हिस्सा डिजेलको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यस अवधिमा ५४ अर्ब ३६ करोड ६५ लाख ५ हजार रुपैयाँबराबरको ६१ करोड ९ लाख ४३ हजार किलोलिटर डिजेल आयात गरेको छ । बस, ट्रक, डोजर, टिपर जस्ता ठूला सवारी, ढुवानी तथा निर्माण क्षेत्रमा प्रयोग हुने साधनमा डिजेलको प्रयोग हुने तथा औद्योगिक ऊर्जाका लागि समेत कतिपय अवस्थामा डिजेलको खपत हुने भएकोले यसको आयात धेरै देखिएको हो ।
दोस्रो धेरै आयात हुने पेट्रोलियम इन्धनमा एलपी ग्यास पर्छ । ६ महिनामा कूल २९ अर्ब ७९ करोड ७० लाख ६३ हजार रुपैयाँको २६ करोड ५४ लाख ५७ हजार ६ सय ७८ किलोग्राम ग्यासको आयात भएको छ । खाना पकाउने, गिजर चलाउने लगायत विविध प्रयोगजमा एलपी ग्यासको प्रयोग हुँदै आएको छ ।
त्यस्तै, यस अवधिमा ३२ अर्ब १४ करोड ९३ लाख ३८ हजार रुपैयाँको ३७ करोड २४ लाख ९ हजार किलोलिटर पेट्रोल आयात भएको छ । खास गरी कार, जिप, भ्यान र दुइपाङ्ग्रे सवारी साधनमा पेट्रोलको प्रयोग गर्ने गरिएको छ । घरायसीसहितका विविध प्रयोजनमा लगाइने ५९ करोड २१ लाख ९७ हजार रुपैयाँको कूल ६५ लाख ३२ हजार किलोलिटर मटीतेलको आयात भएको छ ।
चालु आवकाे पहिलाे ६ महिनामा पेट्राेलियम इन्धन आयातकाे अवश्था
स्राेत : भन्सार विभाग