काठमाडौं । विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न एसडी एक्स्पो मिडियाको आयोजनामा आज (शुक्रबार) देखि काठमाडौंको भृकुटिमण्डपमा विद्युतीय गाडीको एक्स्पो सुरु भएको छ । २०७९ मंसिर १६, १७ र १८ गतेसम्मका लागि भृकुटिमण्डपमा ‘इभी नेपाल एक्स्पो’ सुरु भएको हो ।
नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनका लागि एक्स्पो गरिएको आयोजकले जनाएको छ । एक्स्पोमा ५० बढी भारतीय कम्पनीको सहभागिता रहनेछ ।
आयोजकको अनुसार एक्सपोमा १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्ड छन् । एक्सपोमा विशेष गरी विद्युतीय कार, स्कुटर र मोटरसाइकल र साइकल, बस, ट्रयाक्टर, कार्गो लोडर , रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन ,ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू राखिएको बताइएको छ ।
पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उत्पादीत विद्युत खपत बढाउनका लागि पनि पहिलो प्राथमिकतामा विद्युतीय सवारी रहेकोले प्रवर्द्धन गर्न लागिएको जनाइएको छ । अहिले माग भन्दा बढी भएको विद्युत छिमेकी देशमा निर्यात भइरहेको छ ।
विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ । यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउँछ ।
एक्स्पोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । यस एक्सपोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका छन् ।