म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा ६.५ मेगावाटको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्याएपछि अन्य संरचना निर्माण थालिएको हो ।
कुनौटोदेखि विद्युत्गृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए ।
कुनौटोदेखि दरखोलाको दायाँ किनार हुँदै दर गाउँको फेदीतर्फ पेनस्टक पाइप राख्ने करिब दुई किलोमिटर कच्ची सडकको ट्याक निर्माण भइसकेको छ । तीन वटा डोजर परिचालन गरिएको छ । सोलवाङमा निर्माण हुने विद्युत्गृहसम्म पानी लैजान ३ हजार १०० मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताए ।
उनका अनुसार ५४८ मिटर उचाइबाट पानी खसालेर टर्वाइन घुमाई विद्युत् उत्पादन गरिने छ । उत्पादन हुने विद्युत् ७ किलोमिटर लामो प्रसारण लाइन बनाएर डाँडाखेत सबस्टेसनमा लगेर राष्ट्रिय प्रशारण प्रणालीमा आवद्ध गराइनेछ । सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद बिक्री सम्झौता, जग्गा खरिद र बित्तीय स्रोत व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माण थालिएको हो ।
आयोजनाबाट २०८३ सालको फागुनभित्र विद्युत् उत्पादन गर्ने कार्यतालिका छ । नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको यो आयोजना निर्माणमा करिब १ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।