विद्युत आपूर्त : प्राधिकरण :५७८० मे.वा.घन्टा / निजी क्षेत्र :६१९७ मे.वा.घन्टा / आयात : ११२४० मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग :२३२१७ मे.वा.घन्टा/ उच्च माग :१३३५ मेगावाट
×

विद्युत आयात बढ्यो, निजी क्षेत्रको उत्पादन २ सय ८४ मेगावाट मात्रै

२०७७ पुस २८

काठमाडौं । नदी खोलामा पानीको सतह कम भई आन्तरिक विद्युत उत्पादनमा कमी आएपछि भारतबाट हुने आयात बढेको छ । नदी प्रवाही जलविद्युतगृहले माग अनुसारको विद्युत उत्पादन नगर्दा भारतबाट हुने आयात परिमाण बढेको हो ।

आइतबार (पुस २६ गते) यो वर्षकै सबैभन्दा बढी विद्युत आयात भएको छ । यो दिन विद्युतको उच्च माग १४ सय १० मेगावाट हुँदा भारतबाट ६ सय ३८ मेगावाट विद्युत आयात गरेर आपूर्ति व्यवस्थापन गरिएको छ ।

नदी प्रवाही जलविद्युतगृहको उत्पादनले माग धान्न नसकेपछि  आपूर्ति व्यवस्थापन मिलाउन आयात बढाउनु परेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार यो आयात विद्युतको उच्च माग भएको समयको हो ।

‘बर्खामा आन्तरिक उत्पादनबाटै विद्युतको माग व्यवस्थापन गर्न सकिने गरी हामी आत्मनिर्भर भइसकेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, हिउँदको माग व्यवस्थापन गर्न अझै भारतको विद्युतमा भर पर्नुको विकल्प छैन । यो वर्ष २ सय मेगावाट हाराहारीमा माग बढेकाले आयात पनि बढ्न गयो ।’

गमी सुरु भई हिउँ पग्लिएर नदी खोलामा पानीको सतह नबढ्दासम्म आन्तरिक उत्पादनभन्दा आयात बढी हुने तिम्सिनाले बताए । अहिले प्राधिकरणका जलविद्युतगृहले ५ सय मेगावाट मात्रै विद्युत उत्पादन गरिरहेका छन् । 

निजी क्षेत्रका जलविद्युतगृहको उत्पादन पनि २ सय ८४ मेगावाट सिमित भएको छ । निजी क्षेत्रका जलविद्युतगृहले गरिरहेको यो उत्पादन जडित क्षमताभन्दा ४ सय १६ मेगावाट कम हो । 

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत आयात सहज बनाउन ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मर थप गरेर स्तरोन्नति गरेको थियो । प्राधिकरणले टनकपुर विन्दुबाट पनि ८५ मेगावाटसम्म आयात गर्ने सकिने प्रबन्ध मिलाएकाे छ । नेपालले ढल्केबर–मुजफ्फरपुर, रक्साैल–परवानीपुर, कुशाहा–कटैया,टनकपुरलगायत विन्दुबाट विद्युत आयात गर्दै आएकाे छ ।


 

प्रतिक्रिया