काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाले आगामी दुई महिनाभित्र उत्पादन परीक्षण सुरु गर्ने भएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण अन्तिम चरणमा पुर्याएको आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो ।
आयोजनाको काम ९८ प्रतिशत सकिएको आयोजना संयोजक यज्ञप्रसाद सुवेदीले बताए । उनका अनुसार अब आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम मात्र बाँकी रहेको छ ।
‘इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम सुरू गर्ने तयारी भइरहेकाे हुन्छ’, उनले ऊर्जा खबरसँग भने, ‘उपकरण जडानको काम ६० दिनभित्र पूरा गरी उत्पादन परीक्षण सुरु गर्ने लक्ष्य छ ।’
आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जाडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे ३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको छ ।
नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरीद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ चैतदेखि विद्युत उत्पादन गर्नुपर्ने तालिका थियो । तर, विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाई, कोरोना माहामारीले गर्दा करिब डेढ वर्ष ढिला गरी विद्युत उत्पादन सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।
आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिटिजन बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी, ३० प्रतिशत अर्थात ५७ कारोड ४० लाख रुपैयाँ स्वपूँजी छ ।