काठमाडौँ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा थप १५ दिनसम्म चौबिसै घन्टा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । यसअघि मार्च ३१ सम्म मात्रै चौबिसै घन्टा ६०० मेगावाट विद्युत् निर्यातको अनुमति दिएको थियो । नयाँ अनुमतिसँगै अब १ अप्रिलदेखि १५ सम्म थप १५ दिन उक्त परिमाणको विद्युत् चौबिसै घन्टा नेपालले आयात गर्न पाउने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणका अनुसार अप्रिल १६ देखि ३० सम्म भने दैनिक १६ घन्टा (बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म) मात्रै भारतले नेपालमा विद्युत् निर्यात गर्न पाउने छ । त्यस्तै १ मेदेखि ३० जुनसम्म समेत दैनिक १६ घन्टा (बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म) विद्युत् दिने भएको छ ।
त्यसपछि भने १ जुलाईदेखि ३१ अगस्टसम्म फेरि भारतले नेपालमा चौबिसै घन्टा ६०० मेगावाट विद्युत् निर्यात गर्न पाउने भएको छ । अनुमति अनुसार भारतीय पावर एक्सचेन्जमार्फत मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत उक्त परिमाणको विद्युत् नेपाल विद्युत् प्राधिकरणले आयात गर्न पाउने छ ।
हरेक वर्षको हिउँद (सुख्खायाम) मा नेपालमा विद्युत् उत्पादन कम हुने भएकोले प्राधिकरणले भारतबाट आयात गरेर आपूर्ति गर्दै आएको छ ।