काठमाडौं । आगामी वर्ष (२०७८/७९) मा १ हजार ६ सय २९ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा थपिने भएको छ । अर्थ मन्त्री सरकारले शनिबार सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा उक्त प्रक्षेपण गरिएको हो ।
१११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, ४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायत आयोजना सम्पन्न भई प्रणालीमा जोडिने अनुमान छ । यस्तै, निजी क्षेत्रका विभिन्न आयोजना प्रणालीमा थपिई लक्षित विद्युत् उपलब्ध हुने प्रक्षेपण गरिएको छ ।
यसैगरी, आगामी आर्थिक वर्षमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि बजेटको आकार बढाइएको छ । सरकारले १ खर्ब १३ अर्ब रुपैयाँको बजेट सिलिङ तोके पनि यस मन्त्रालयका लागि १ खर्ब २१ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।