काठमाडौँ । मृगशीरा कन्सल्टिङ्ग एन्ड ट्रेनिङ सर्भिसेस तथा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजिसिएल) को संयुक्त आयोजनामा दुई दिने कार्यशाला गोष्ठी सप्पन्न भएको छ । शुक्रबार र शनिबार (असार १२ र १३ गते) 'इभोल्भिङ ल्याण्डस्केपस् अफ इलेक्ट्रिसिटि मार्केट एन्ड रेगुलेसन इन नेपाल (नेपालको विद्युत् बजार तथा नियमनको बदलिँदो परिदृश्य) विषयक कार्यशाला गरिएको हो ।
ऊर्जा क्षेत्रमा जोडिएका पेशाकर्मीका लागि विद्युत् बजार तथा नियमन सम्बन्धी सिकाइ तथा ज्ञान विस्तार गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियो । कार्यक्रममा बैंक तथा वित्तीय संस्था, जलविद्युत् आयोजना, परामर्शदाता कम्पनी लगायत क्षेत्रका २५ जनाभन्दा बढी इन्जिनियर, बैंकर तथा चार्टर्ड एकाउन्टेन्टस्को सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा सानिमा हाइड्रो समूह, राष्ट्रिय ग्रीड प्रसारण कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, काबेली समुह, एसबिआई बैंक लगायत विभिन्न संस्थाका कर्मचारीको सहभागिता थियो।जसमा विद्युत् नियमन आयोगका पूर्व-अध्यक्ष रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका पूर्व-उपकार्यकारी निर्देशक द्वय शेरसिंह भाट र प्रबल अधिकारी, प्रधिकरण भार प्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोष, आरपिजिसिएलका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठ तथा मृगशीरा कन्सल्टिङका संस्थापक तथा प्रमुख सरोज कोइरालाले विद्युत् बजार तथा नियमनका विभिन्न आयामका सम्बन्धमा प्रशिक्षण दिएका थिए।
विद्युत क्षेत्रमा धेरै सम्भावना रहे पनि तिनलाई परिणाममुखी गराउन रणनीतिकरूपले काम गर्नेपर्ने समय आएको कोइरालाले बताए । 'जनशक्तिको क्षमता विकास त्यसै रणनीति मध्येको एक महत्त्वपूर्ण पाटो हो,' उनले भने, 'विद्युत् क्षेत्रका सम्भावनाबारे मिथकलाई वास्तविकताबाट छुट्याएर जनशक्तिलाई सुसूचित गराउँदै यस क्षेत्रको समुचित विकासमा टेवा पुर्याउने हाम्रो उद्देश्य हो ।'
कार्यक्रममा अतिथिको रूपमा पूर्व-सचिव द्वय अनुपकुमार उपाध्याय र दिनेशकुमार घिमिरेले यस खालका कार्यक्रमले ऊर्जा क्षेत्रमा अभाव हुँदै गएको दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए । नीति निर्माण तहमा हिजो भएका कामलाई अझ संस्थागत गर्दै कार्यान्वन गर्नुपर्ने समय आएकोले यसलाई युवाहरू जिम्मेवारीका साथ अगाडि बढाउन सक्ने पनि उनीहरूले बताए । यस्तै, अर्का अतिथि पुल्चोक इन्जिनियरिङ क्याम्पसका एसोसिएट प्रोफेसर डा. वसन्तकुमार गौतमलेले इन्जिनियरिङ सिकाइमा यस्ता कार्यक्रमले नयाँ खालको इँटा थप्ने बताए ।