काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत सचिवdf बढुवा भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको हो । हाल उनी मन्त्रालयकै विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।
गत भदौ १४ गते सचिव सुरेश आचार्यले अनिवार्य अवकाश पाएपछि मन्त्रालय सचिवविहीन रहँदै आएको थियो । उक्त पद रिक्त रहेकोमा चटौतलाई पदस्थापन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
चटौत २०७९ साल भदौ २१ गतेदेखि २०८० साल माघ २३ गतेसम्म विद्युत् विकास विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । २०४१ सालमा कञ्चनपुरको महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनी २०५२ सालमा इन्जिनियरबाट सरकारी सेवा प्रवेश गरेका थिए । उनले महेन्द्रनगरकै सिद्धनाथ साइन्स क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरी भारतबाट इलेक्ट्रिक इन्जिनियरिङमा स्नातक र जलस्रोत विकासमा रुड्की विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन् ।
सुरुमा भूमिगत सिँचाइका क्षेत्रमा काम गरेका उनी २०६१ सालमा विभागमा प्रवेश गरी (वर्षसम्म विभिन्न पद हुँदै उपमहानिर्देशकसम्मको जिम्मेवारी सम्हालेका थिए । उनले विभागमै रहँदा ३ वर्ष पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी सञ्चालकको जिम्मेवारी समेत सम्हालेका थिए ।