काठमाडौँ । चिनियाँ गेजुवा ग्रुपको सहायक कम्पनी गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले २७० मेगावाटको भेरी–१ आंशिक जलाशय (पिआरआरओआर) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
जाजरकोटको नलगाड नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ तथा रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्बर ४, ५, ६ भएर बग्ने भेरी निदीको पानी प्रयोग गर्ने गरी उक्त आयोजना निर्माणको प्रस्ताव गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन राय, सुझावका लागि प्रकाशित गरेको छ । मन्त्रालयको सूचना अनुसार आयोजनाका मुख्य संरचनाहरू बाँध, डिसेन्डिङ बेसिन, हेडरेस टनेल, सर्ज ट्याङ्क, पेनस्टक पाइप, विद्युत्गृह, टेलरेस रहेका छन् । करिब ७ किलोमिटर सुरुङ रहने आयोजनाको विद्युत्गृह भने सतही रहने छ ।
बिजुलीको उच्च माग हुने समय (पिक आवर) मा दैनिक ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने गरी निर्माण गरिने आयोजनाबाट वार्षिक १५६७.३१ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने छ ।
आयोजनाको लागत ७१ अर्ब ९७ करोड १६ लाख २० हजार रुपैयाँ रहने अनुमान गरिएको छ ।