काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा ९.८ मेगावाटकोको लुजा खोला क्यासकेड जलविद्युत आयोजना निर्माण हुने भएको छ । प्रवर्द्धक एभ्रिस इनर्जी प्रालिले उक्त आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको छ ।
नदीको प्रवाहमा आधारित (आरओआर) उक्त आयोजना लुजा खोला जलविद्युत् आयोजनाको टेलरेसबाट निस्कने पानीलाई सिधै उपयोग गर्ने गरी ‘क्यासके’ ढाँचामा निर्माण गरिने भएको हो । योजनाको मुख्य भौतिक संरचनाहरू दूधकोसी नदीको दाहिने किनारमा रहनेछन् भने यसबाट वार्षिक औसत ६४.८१ गिगावाट घण्टा विद्युत् ऊर्जा उत्पादन हुने लक्ष्य राखिएको छ ।
प्राविधिक विवरण अनुसार आयोजनामा ३४९ मिटरको ग्रस हेड र ३.३७ घनमिटर प्रतिसेकेण्डको डिजाइन बहाव रहने छ । यसका लागि १० मिटर लम्बाइको हेडपोन्ड, १७७५ मिटर लामो पेनस्टक पाइप र २७ मिटर लम्बाइको विद्युत्ंगृह निर्माण गरिनेछ, जहाँ ५.०५२ मेगावाटका दुईवटा तेर्सो पेल्टन टर्बाइनहरू जडान गरिनेछन् ।
उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत लुजा खोला जलविद्युत् आयोजनाको स्विचयार्डमा जोडिने छ । कम्पनीले २०८४ चैत्र ३० गतेदेखि व्यावसायिक रूपमा विद्युत उत्पादन सुरु गर्ने प्रस्ताव गरेको छ ।
आयोजना निर्माण र सञ्चालन गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रभाव पर्न सक्ने देखिए ३५ दिनभित्र लिखित राय सुझाव दिन आह्वान गर्दै विभागले आइतबार सूचना जारी गरेको छ ।