काठमाडौँ । सुख्खायामको विद्युत् माग र आपूर्तिमा राहत पुग्ने गरी दुई जलविद्युत् आयोजनाबाट उत्पादित करिब ११ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा जोडिन लागेको छ । प्रणालीमा आउने आयोजनामा सुपर हेवा पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित ६ मेगावाटको सुपर हेवा खोला र मेन्छियम हाइड्रो पावर प्रालिद्वारा प्रवर्द्धित ४.७२ मेगावाटको पिलुवा खोला–२ रहेका छन् ।
जेपर्ट हाइड्रोका इलेक्ट्रो मेकानिकल उपकरण जडित सुपर हेवाबाट आज (चैत १२) देखि विद्युत् उत्पादन सुरु भएको छ । विद्युत् खरिद सम्झौता (पिपिए) को प्रावधान अनुसार आयोजनाले अबको १५ दिन नेपाल विद्युत् प्राधिकरणलाई निशुल्क ऊर्जा उपलब्ध गराउने छ भने त्यसपछि व्यापारिक उत्पादन गणना हुनेछ ।
संखुवासभामा निर्माण भएको सुपर हेवाबाट वार्षिक ६.१७२ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युत्गृहको स्वीचयार्डदेखि १.३५ किलोमिटर दूरीमा रहेको ३३/२२० केभी बानेश्वर सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।
यसैगरी, २०८० साल असारमा आएको बाढी–पहिरोले क्षति पुर्याएको पिलुवा खोला–२ को पनि पुनर्निर्माण पूरा भइसकेको हुँदा अर्को साताबाट विद्युत् उत्पादन सुरु हुने जनाइएको छ । यो आयोजना पनि संखुवासभा चैनपुर नगरपालिकामै निर्माण भएको छ ।