विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तालिका चैतमा सरेको छ । आयोजनाको निर्माण पूरा भइनसकेकाले विद्युत् उत्पादन तालिका ६ महिना पछि धकेलिन पुगेको हो ।

आयोजनाको काम ९७ प्रतिशत पूरा भएको छ । रसुवागढी हाइड्रो पावर कम्पनीले जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ को सिमाना हुँदै बहने नदीमा निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

टेलरेस सुरुङको निर्माण भइरहेको तथा इलेक्ट्रो तथा हाइड्रो मेकानिकल उपकरणको काम भइरहेकोले विद्युत् उत्पादन सुरु हुन अझै केही समय लाग्ने कम्पनीले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कोभिड–१९, मध्यभोटेकोसीमा आएको बाढी/पहिरो, कमजोर भौगर्भिक अवस्था लगायतका कारण उत्पादन तालिका प्रभावित हुँदै आएको छ ।

यसअघि आयोजनाबाट गत असोजदेखि विद्युत् उत्पादन गर्ने भनिएको थियो । त्यो भन्दा अघि असारदेखि उत्पादन गर्ने तालिका थियो । सुरुवाती तालिका भने २०७८ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य थियो ।

अहिले आयोजनाको काम द्रुत गतिमा अघि बढेको छ । आयोजनाको हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ । इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रोले विद्युतगृहमा इलेकट्रोमेकानिकल उपकरण जडान गरिरहेको छ । कोरोनाकालमा इलेक्ट्रो मेकानिकलतर्फको काम रोकिँदा आयोजनाको विद्युत् उत्पादनको तालिका प्रभावित हुन पुगेको थियो ।

यस्तै, हाइड्रो मेकानिकलतर्फको उपकरण जडान कार्य पनि भइरहेको छ । सिभिल तथा हाइड्रो मेकानिकलको काम चाइना इन्टरनेश्नल वाटर एण्ड इलेक्ट्रिक क्रप, चाइनाले गरिरहेको छ ।

आयोजनाबाट यसअघि नै विद्युत उत्पादन  सुरु गर्ने तालिका भएपनि  २०७२ सालको विनासकारी भुकम्प, नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रुपमा  फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले  जनाएको छ ।

कम्पनीको पछिल्लो तालिका अनुसार  आयोजनाबाट २०७८ असारभित्र  सम्पन्न गर्ने लक्ष्य थियो तर, २०७७ सालको वर्षायाममा प्रक्षेपण गरिए भन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलीब्रिजमा क्षति पुर्‍याई आवत/जावतमा कठिनाई र पहुँचमार्ग पूर्ण रुपमा क्षति पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

साथै, टेलरेस सुरुङको १४६ मिटर अत्यन्त कमजोर भौगर्भिक अवस्था तथा भूमिगत विद्युतगृहमा जडानको तयारीमा रहेको इलेक्ट्रोमेकानिकल उपकरणहरू डुबानमा परेको कारण सबै क्षेत्रको कार्य प्रगतिमा असरा परेकोले निर्माणमा ढिलाई भएको कम्पनीले जनाएको छ ।

कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०८० चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १८ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने समयमा कूल १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँमा लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

यस्तै, आयोजनाको विद्युत् जोडिने प्रसारण लाइनको ठेक्का एमएस रोयल कन्स्ट्रक्सन कम्पनी गरिरहेको छ । यसअघि ठेक्का पाएको मुडभरी एण्ड जोशी प्रालिले विविध कारण पटकपटक म्याद थप गर्दा पनि तोकिएको समयमा कार्य सम्पन्न हुने कुनै ठोस आधार नदेखिएको हुँदा ठेक्का अन्त्य गरिएको हो । रोयल कन्स्ट्रक्सनसँग २०७९ कात्तिक १५ गते ठेक्का सम्झौता भई लाइनको जग तयार गरी टावर खडा गर्ने तथा तार तान्ने काम समेत सम्पन्न भइसकेको जनाइएको छ ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : रसुवागढी जलविद्युत आयोजना

प्रवर्द्धक : रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेड

आयोजनास्थल : रसुवा, गोसाइकुण्ड गाउँँपालिका

क्षमता : १११ मेगावाट

इलेक्ट्रो मेकानिकल ठेक्का : भारतीय कम्पनी भोइथ हाइड्रो प्रालि

सिभिल तथा हाइड्रो मेकानिकल : चाइना इन्टरनेश्नल वाटर एण्ड इलेक्ट्रिक क्रप, चाइना

प्रसारण लाइन : एमएस रोयल कन्स्ट्रक्सन कम्पनी (मुडभरी एण्ड जोशी प्रालिसँग ठेक्का रद्द)

लागत : सुरुकाे १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ, संशोधित–१७ अर्ब १ करोड रुपैयाँ, नयाँ संशाेधित लागतः १८ अर्ब ४७ कराेड

उत्पादन तालिका : २०७८ भित्र, संशाेधितः २०८० असार, थप संशाेधितः २०८० असाेज, नयाँ संशाेधितः २०८० चैत

वार्षिक ऊर्जा उत्पादन : ६१ करोड ६८ लाख ७५ हजार युनिट

वार्षिक ऊर्जा उत्पान आम्दानी : ३ अर्ब २५ करोड रुपैयाँ

प्रसारण लाइन : १० किलोमिटर, १३२ केभी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit