विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

पर्वत । ६४० मेगावाटको बहुउद्देश्यीय कालीगण्डकी जलाशय जलविद्युत् आयोजना निर्माणका लागि २ खर्ब २४ अर्ब ६५ करोड रूपैयाँ लागत अनुमान गरिएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तयार पारिएको वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनको मस्यौदामा परियोजना सम्पन्न गर्न साे रकमकाे लागत लाग्ने अनुमान गरिएकाे हाे । विभागको प्रस्तावमा स्मिक इन्टरनेशनल प्रालि अस्ट्रेलिया र जेड कन्सल्ट प्रालि नेपाल काठमाडौँ जेभीले ईआईएको काम गरिरहेको छ ।

पर्वतको विहादी गाउँपालिकामा निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणका बारेमा बुधबार पर्वत सदरमुकाम कुश्माबजारमा भएको सार्वजनिक सुनुवाइमा आयोजनाको कुल लागत, यसले ओगट्ने क्षेत्रफल, प्रभावित क्षेत्रलगायतबारे संक्षिप्त प्रतिवेदन सार्वजनिक गरिएको छ । जसमा आयोजनाका कारण ४ जिल्लाका ३२ वडा प्रभावित हुने उल्लेख छ । पर्वत, बागलुङ, स्याङ्जा र गल्मीका ७ पालिका यसका प्रभावित क्षेत्र हुन् ।

आयोजनामा ४ वटा फ्रान्सिस टर्बाइन हुनेछन् भने दुईवटा टेलरेश निर्माण गरिने छन् । समुद्री सतहदेखि ५७० मिटरको उचाइमा निर्माण हुने आयोजनामा डाइभर्सन टनेल दुईवटा, बाँधको उचाइ २४४ मिटर र ७६० मिटर चौडाइ हुने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माणपछि पर्वतको विहादीदेखि जलजला गाउँपालिकाको खनियाँघाटसम्म करिब २९ किलोमिटर लामो जलाशय निर्माण हुने जनाइएको छ ।

प्रतिवेदन लेखनमा संलग्न वातावरणविज्ञ खडक महताले आयोजनाबाट वार्षिक १६३ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको र त्यसबाट वार्षिक १५ अर्ब रूपैयाँ आम्दानी गर्न सकिने जानकारी दिए । उनका अनुसार आयोजना प्राविधिक, आर्थिक र वातावरणीय हिसाबले सम्भाव्य देखिएको छ । शुरूमा ८४४ मेगावाट निर्माण हुने सर्वेक्षण गरिए पनि पछिल्लो प्रतिवेदनले ६४४.३९ मेगावाट उत्पादन हुने देखाएको हो । 

महताले भने, ‘आयोजना निर्माणबाट प्रभावित क्षेत्रका ४३६ घरपरिवार विस्थापित हुनेछन् । यो आयोजनाको बाँध, पावरहाउस, टेलरेस, टनेल, डाइभर्सन, आउटलेटलगायतका संरचना निर्माणका लागि १ हजार ८९० हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमध्ये ८०३ हेक्टर निजी र १ हजार ८२ हेक्टर वन क्षेत्र पर्नेछ भने अन्य राजमार्ग र महत्त्वपूर्ण सडक पर्नेछन् ।’

बहुउद्देश्यीय परियोजनाको रूपमा अघि बढेको यो आयोजना शुरू भएपछि यस क्षेत्रका २ हजार ५०० स्थानीयले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ । स्थानीय श्रोतको उपयोग, विद्युतीकरण, रोयल्टी तथा शेयरको उपलब्धता, पर्यटन, मनोरञ्जन, विकास तथा भौतिक पूर्वाधार निर्माणजस्ता सकारात्मक प्रभाव र वायु, ध्वनी र पानी प्रदूषण, सामुदायिक स्वास्थ्य र सुरक्षाको जोखिम, हरितगृह ग्यास उत्सर्जनजस्ता केही नकारात्मक असर पर्ने पनि प्रतिवेदनमा उल्लेख छ । 

कालीगण्डकी धार्मिक एवम् पौराणिक हिसाबले समेत महत्वपूर्ण रहेकाले नदी किनारमा रहेका मोदीवेणी, जैमिनीलगायतका प्रसिद्ध धाम तथा विभिन्न घाटसमेत डुबानमा पर्नेछन् । प्रतिवेदनमा तिनको उचित स्थानान्तरण तथा व्यवस्थापन गरिने उल्लेख छ । त्यसैगरी १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजना, १.५ मेगावाटको ठेउलेखोला र तल्लो ठेउलेखोला, बञ्जिजम्प, जिपलाइन, तथा पुष्पलाल मध्यहाडी र कालीगण्डकी करिडोरको केही भागमा समेत प्रभाव पर्ने जनाइएको छ । 

सार्वजनिक सुनुवाइमा सहभागी यस क्षेत्रका नागरिकले कालीगण्डकीको सभ्यतालाई असर नपर्ने गरी र यहाँ रहेका पौराणिक र ऐतिहासिकस्थललाई प्रभावित नगर्ने गरी निर्माण गर्न सुझाव दिएका छन् ।

कुश्मा नगरपालिकाका ११, फलेवास नगरपालिकाका छ, विहादी गाउँपालिकाका २, जलजला गाउँपालिकाको १, बागलुङको बागलुङ नगरपालिकाका ६, जैमिनि नगरपालिकाका ४ र गुल्मीको कालीगण्डकी गाउँपालिका वडा–६ र स्याङ्जाको गल्याङ नगरपालिका वडा–५ र ६ का बासिन्दाबीच सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

विद्युत् विकास विभागका इन्जिनियर सुनिल पौडेलका अनुसार विसं २०७६ चैत ५ गतेदेखि आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम शुरू भएको थियो । प्रतिवेदनअनुसार उक्त लगानी नेपालले मात्र गर्न सक्ने अवस्था देखिएको छैन । जसका लागि नागरिक र वैदेशिक लगानीकर्ताको समेत सहभागिता जुटाउनुपर्ने उनको भनाइ छ । यहाँ उत्पादित विद्युत् २२० केभी क्षमताको कुश्मा–बुटवल प्रसारण लाइनमा जोडिने छ ।

नेपालकै अन्य जलाशय आयोजनाभन्दा सस्तो र कम क्षति पुर्‍याउने उक्त आयोजना देशकै नमूना हुने र पर्यटकीय हिसाबले समेत निकै ठूलो फड्को मार्ने विश्वास लिइएको फलेवास नगरपालिकाका पूर्वप्रमुख पदमपाणि शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३