काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले २३५ मेगावाटको हुम्ला कर्णाली–१ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन सार्वजनिक गरेको छ । आयोजनाको प्रवर्द्धक रुरु जलविद्युत् परियोजना लिमिटेडले स्वीकृतिका लागि पेस गरेको इआइएमाथि सम्बन्धित सरोकारवालाको राय–सुझावका लिन मन्त्रालयले सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार उक्त नदी प्रवाहमा आधारित (आरओआर) आयोजना कर्णाली नदीको पानी सदुपयोग गर्ने गरी आयोजना निर्माण गरिने छ । आयोजनाको जलमार्ग (हेडरेस), विद्युत्गृह, पानी निकास मार्ग (टेलरेस) हुम्लाको कर्णाली नदीको दायाँ किनारमा पर्ने सर्केगाड गाउँपालिकाको वडा नम्बर १ र ४ मा निर्माणको प्रस्ताव गरिएको छ ।
आयोजना अन्तर्गत २२ मिटर अग्लो पानी फर्काउने बाँध, बालुवा थिग्र्याउने पोखरी ४ वटा, ८.८६ किलोमिटर लामो हेडरेस सुरुङ, भूमिगत विद्युत् गृह, सर्जसाफ्ट र २७५ मिटर लामो टेलरेस निर्माण गरिने छ ।
आयोजनाबाट वार्षिक करिब १५३१.५२ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादन हुने विद्युत् १० किलोमिटर प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको मुगु कर्णाली सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा पुर्याउने लक्ष्य राखिएको छ । आयोजनाको इआइए प्रतिवेदन मन्त्रालयको वेबसाइटमा प्रकाशित गरिएको जानकारी दिँदै कुनै राय–सुझाव भए ७ दिनभित्र लिखित रूपमा पेस गर्न मन्त्रालयले बुधबार सूचना जारी गरेको छ ।