काठमाडौँ । ३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रालिले प्रवर्द्धन गर्न लागेको आयोजनाको सुरुङ निर्माण कार्यको आइतबार म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभाका सांसद एवम् पूर्व–मन्त्री रेशमबहादुर जुग्जालीले धवलागिरि गाउँपालिका–४ नाउराको अडिट २ र सिम्कोस दोभानमा रहेको बाँधको अडिट १ मा बिस्फोट गराएर आयोजना निर्माणको शुभारम्भ गरेका हुन् ।
प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उदयकान्त झाले आगामी २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युत्गृह निर्माण सुरु गरिएको ‘ऊर्जा खबर’ लाई बताए । ‘आयोजनामा पुग्न म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक टन क्षमताका दुई वटा बेलिब्रिजसहित ९ किलोमिटर लामो पहुँचमार्ग, सुरक्षाका लागि सैनिक आवाससहितका पूर्वाधारको निर्माण सकिएको छ,’ उनले भने, ‘अब सिम्कोस दोभानको बाँधदेखि घिम्लेटी जोड्ने ४ किलोमिटर लामो सुरुङको निर्माण थालिएको छ ।’ आयोजनाका लागि आवश्यक निजी जग्गा १.६९ हेक्टर खरिद गरिएको तथा सरकारी जग्गा ३.६९ हेक्टर अधिग्रहण गरी यसको शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, वनसम्बन्धी सम्पूर्ण कार्यहरू सकिइसकेको छ ।
सिइओ झाका अनुसार आयोजनाको बाँध सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १ सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा निर्माण हुने छ । त्यसतै, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी तथा हेडरेस सुरुङ निर्माण हुनेछ भने म्याग्दी खोला र मुदी खोलाभन्दा एक किलोमिटर माथिल्लो तटमा विद्युत्गृह निर्माणको कार्य सुरु गरिएको छ । आयोजनामा ३००.८८ मिटर अग्लो हेड (उचाइ) भएको ४ किलोमिटर लामो सुरुङबाट पानी लगिने छ ।
बैंकको ब्याजसहित आयोजनाको कुल लागत ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ प्रक्षेपण गरिएको छ । त्यसमा बैंकहरूबाट ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्नेछन् । कम्पनीका अनुसार आयोजनामा बैंकको ब्याजबाहेक ऋण र स्वपुँजी लगानीको अनुपात ८०ः२० रहेको छ भने बैंकको ब्याजसहित लगानीको अनुपात ७०ः३० रहेको छ । आयोजना निर्माण भएको करिब १२ वर्षमा बैंकको ऋण तिरिसक्ने योजना छ । आयोजनामा सिद्धार्थ बैंक, नेपाल एसबिआई, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नबिल बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । स्वपुँजीमा प्रवर्द्धकको सेयरसहित सर्वसाधारणको सेयर लगानी समेत रहने छ ।
आयोजनाबाट वार्षिक औसत २१५.७१४ गिगावाट घन्टा (हिउँदमा ६७.२३ गिगावाट घन्टा र बर्खामा १४८.४८६ गिगावाट घन्टा) ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युत्गृहदेखि १० किलोमिटर दूरीको १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर केन्द्रीय प्रणालीमा प्रवाह गरिनेछ ।
आयोजनाको डिजाइन परामर्शदातामा ईआई माभेन प्रालि रहेको छ भने सिभिल निर्माण (हेडवर्क्सदेखि अडिट सुरुङ) माछापुच्छ्रे इन्जिनियरिङ प्रालि र आरजे/ममता जेभी (अडिट सुरुङदेखि विद्युत्गृहसम्मको संरचना) ले गर्ने गरी सम्झौता भएको छ ।