तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् काटेर बक्यौता महसुल असुली गरेकाे छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् काटेर १ करोड २७ लाख १५ हजार ७८६ असुल गरेको हो ।
उक्त अवधिमा १ हजार ५२ सेवाग्राहीको लाइन काटिएको थियो । सोमध्ये ७०८ ग्राहकले बक्यौता भुक्तानी गरेपछि लाइन पुनः जोडिएको छ । सो अवधिको ६६ लाख २७ हजार ३३१ रुपैयाँ बक्यौता महसुल उठ्न बाँकी रहेको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार आव २०८०/८१ मा १ हजार ४३६ जना सेवाग्राहीको लाइन काटेर २ करोड ६८ लाख ४५ हजार ७०० रुपैयाँ असुल गरिएको छ । सो अवधिमा १ हजार २७३ सेवाग्राहीको लाइन पुनः जडान गरिएको थियो भने ३ करोड ५० लाख ५६ हजार ६७४ बक्यौता उठ्न बाँकी थियो ।
केन्द्रले आव २०८१/८२ मा ५ करोड ३६ लाख ५१४ विद्युत् युनिट बिक्री गरेको छ । आव २०८०/८१ मा पाँच करोड ४० लाख ५९ हजार २१२ विद्युत् युनिट बिक्री भएको थियो । गत आवमा ०.८४ प्रतिशतले कमी आएको हो ।
केन्द्रले विद्युत् बिक्री गरी आव २०८१/८२ मा ५९ करोड ५८ लाख ६९ हजार ४७९ रुपैयाँ महसुल उठाएकाे थियो । उनका अनुसार आव २०८०/८१ मा रु ५३ करोड ९४ लाख ३३ हजार ९३६ असुल भएको थियो ।
चार्जिङ स्टेसनतर्फ १४ ग्राहक रहेकामा ७ लाख १ हजार २८६ युनिट विद्युत् बिक्री भएको रेग्मीले बताए । सोबापत ५३ लाख ३३ हजार ९२९ रुपैयाँको बिजुली बिक्री भई ५४ करोड ११ लाख ९२५ रुपैयाँ असुल भएको थियो ।
केन्द्रमा एक वर्षको अवधिमा २ हजार ५०३ ग्राहक थपिएका छन् । थपिएकासहित जिल्लाभर कूल ५३ हजार भन्दा बढी सेवाग्राही पुगेका केन्द्र प्रमुख रेग्मीले जानकारी दिए ।
उनका अनुसार घरेलु ग्राहककाे सङ्ख्या ३ हजार २५६, व्यापारिक ३१, गैरव्यापारिक ३७, औद्योगिक ३७, यातायात (इभी) १०, खानेपानी ४१, सिँचाइ २६, धार्मिक तथा सांस्कृतिक १६, अस्थायी बत्ती १४ र सडक बत्ती ३५ गरी २ हजार ५०३ सेवाग्राही सङ्ख्या थपिएको छ ।
थपिएका सहित केन्द्रको कार्यक्षेत्रभित्र घरेलु ग्राहक ५१ हजार ७५, व्यापारिक ३५५, गैरव्यापारिक ५६७, औद्योगिक ७८१, यातायात (इभी) ११, खानेपानी २३२, सिँचाइ ३८२, धार्मिक तथा सांस्कृतिक २१९, अस्थायी बत्ती १६, सडक बत्ती २०८, सामुदायिक एक र आन्तरिक १३ ग्राहक पुगेका केन्द्रले जनाएको छ ।