काठमाडौं । नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको विद्युत महसुल संकलन काउन्टर १ साताका लागि बन्द भएको छ । केन्द्रले धरान उपमहानगरपालिकाको निर्देशनपछि आज (आइतबार) बिहानदेखि महसुल संकलन काउन्टर बन्द गरेको हो ।
विश्वभरी महामारीरूपमा फैलिएको नयाँ भेरियन्टकाे काेभिड–१९ को संक्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनिकरणका लागि आगामी जेठ १५ गतेसम्म काउन्टर बन्द गरिएको केन्द्रले जनाएको छ । यो अवधिमा धरान उपमहानगरपालिकाको सम्पूर्ण बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछ ।
वितरण केन्द्रले घरायसी ग्राहकको घर–घरमा गएर मिटर रिडिङ गर्ने कार्य समेत बन्द गरेको छ । मिटर रिडिङ विगत वर्षको खपत अङकको आधारमा गरिएको छ । सो अंक यकिनका लागि ग्राहक नम्बर तथा मिटरको हालको अंक सहित कार्यालय समयमा सम्पर्क गर्न पनि केन्द्रले अनुरोध गरेको छ । यो अवधिमा अनलाईन भुक्तानी सेवा भने सुचारू नै रहनेछ ।