काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले माघ १३ गतेदेखि विभिन्न कार्यक्रम गरी ३ दिनसम्म अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने भएको छ । विश्वभर नै जनवरी २६ तारिकमा मनाउने गरिएको उक्त दिवस नेपालमा पनि केन्द्रले भव्यरूपमा मनाउन लागिएको हो । केन्द्रले सोमबार पत्रकार सम्मेलन गरी दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमबारे समेत जानकारी गराएको छ ।
केन्द्रका अनुसार दिवसको पहिलो दिन माघ १३ गते सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यस्तै, दोस्रो दिन माघ १४ गते विकास साझेदारहरूसँग वैठक गर्ने जनाएको छ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा जानकारी गराउने तथा विकास साझेदारहरूको प्राथमिकताबारे जानकारी हासिल गर्न यस्तो बैठक आयोजना गर्न लागिएको हो ।
तेस्रो दिन माघ १५ गते उत्थानशील एवम् न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरण सम्बन्धी सम्मेलन आयोजना गर्ने जनाएको छ । यो सम्मेलन अन्तर्गत नेपालमा उत्थानशील एवम् न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तिव्रता दिन सरोकारवालाहरूबीच अनुभव आदान प्रदान, लगानीको अवसरबारे अन्तर्क्रिया एवम् आवश्यक रणनीति तर्जुमाको लागि विभिन्न प्रस्तुतिहरू तथा छलफल हुने जनाएको छ ।
सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवम् जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारीरगैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमूलक/प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ताहरू, यस क्षेत्रका अभ्यासकर्ता, निजी क्षेत्र, सञ्चार जगत, नगारिक समाज एवम् क्षेत्रगत विज्ञहरू एउटै स्थलमा उपस्थित हुने अवसर जुटाउने केन्द्रले जनाएको छ ।
कार्यक्रममा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवम् जलवायु परिवर्तनको क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३५० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । यसको लागि १० भन्दा बढी विभिन्न संस्थाहरूको सहयोग रहने छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको उपस्थितिमा हुने सम्मेलनमा उद्घाटन सत्रमा ‘उत्थानशील एवम् न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रूपान्तरण’ विषयमा प्रस्तुति एवम् सरकार, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिको सम्बोधन रहने छ ।
दोस्रो चरणमा ऊजा रूपान्तरणको क्षेत्रगत अवस्था, अवसर तथा चुनौति, खुद शून्य उत्सर्जन र उत्थानशील अर्थतन्त्रको लक्ष्य हासिलका लागि ऊर्जा रूपान्तरण, ऊर्जा रूपान्तरणको लागि लगानी तथा कार्बन वित्त : आन्तरिक र बाह्य लगानीको आवश्यकता, ऊर्जा रूपान्तरणको लागि नियामक ढाँचा, सुशासन र क्षमता विकास र न्यून कार्बनमा आधारित अर्थतन्त्र सहितको ऊर्जा रूपान्तरणको लागि भविष्यको मार्गचित्र गरी ५ वटा विषयमा छुट्टाट्टै छलफल हुने छ ।
सम्मेलनबाट ऊर्जा रूपान्तरणका लागि क्षेत्रगत आवश्यकताको पहिचान, लगानी आवश्यकता र जलवायु वित्तको लागि विभिन्न संयन्त्रहरूको पहिचान, लगानी अभिवृद्धि एवम् विकास सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ । सरकारबाट हालै स्वीकृत ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ र ‘विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८०’ को प्रभावकारी कार्यान्वयनका लागि समेत सहयोग पुग्नेछ ।
संयुक्त राष्ट्रसंघले ‘पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरू सञ्चालन गर्ने’ उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ को रूपमा मनाउने घोषणा गरेको थियो ।