काठमाडौँ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ४४० मेगावाटको तिला–१ जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । एससी पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित आयोजनामा एनएमबी बैंक लिमिटेडको नेतृत्वमा १३ वटा बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको हो ।
मंगलबार एक समारोहकाबीच उक्त ऋण लगानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा लिड बैंक एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र आयोजना प्रवर्द्धक कम्पनीकी अध्यक्ष सुसन कर्माचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार ऋण लगानीमा एनएमबी बैंकले लिड बैंकको भूमिका निर्वाह गरेको छ । यस बैंकले आयोजनामा १० अर्ब रुपैयाँ लगानी गर्ने भएकाे छ । यस्तै, को–लिड बैंकका रूपमा रहेका ग्लोबल आईएमई बैंकले ७ अर्ब, हिमालयन बैंकले ७ अर्ब र प्रभु बैंकले ७ अर्ब लगानी गर्ने भएका छन् ।
यसबाहेक नबिल बैंकले ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २ अर्ब लगानी गर्ने छन् । कृषि विकास बैंकले १ अर्ब ५० कराेड, साइन रेसुङ्गा विकास बैंकले १ अर्ब ५० कराेड, मुक्तिनाथ विकास बैंकले १ अर्ब ५० कराेड, साङ्ग्रिला विकास बैंकले १ अर्ब २५ कराेड, ज्योति विकास बैंकले १ अर्ब, एनआइसी एसिया बैंकले १ अर्ब र आइसिएफसी फाइनान्स लिमिटेडले ८० कराेड रुपैयाँ लगानी गर्ने भएका छन् ।
आयोजनाको क्षमता कुल ४४० मेगावाटको भए पनि विद्युत् प्राधिकरणले २९८ मेगावाटको मात्रै विद्युत् खरिद सम्झौता (पिपिए) गरेकोले हाल त्यही क्षमतामा निर्माण गर्न वित्तीय व्यवस्थापन गरिएको हो । बाँकी १४२ मेगावाटको मुख्य संरचना अहिले नै निर्माण गरी सञ्चालनमा पछि ल्याउने प्रवर्द्धक कम्पनीको योजना छ ।
यसअनुसार २९८ मेगावाट निर्माणका लागि ५९ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कुल ४४० मेगावाट क्षमता निर्माण गर्न करिब ६९ अर्ब लाग्ने अनुमान छ । हालका लागि सुनिश्चित गरिएको ५९ अर्ब ४० करोड मध्ये १४ अर्ब प्रवर्द्धकहरुले स्वपुँजी लगानी गर्ने र बाँकी पुँजी बैंकहरुको ऋण लगानीबाट जुटाइने छ ।
आयोजनाको बाँध तथा मुख्य सुरुङसहितका संरचना भने ४४० मेगावाटकै क्षमतामा निर्माण गरिने छ । बाँकी क्षमताका आवश्यक संरचना अनुमति प्राप्त गरी आवश्यक प्रक्रिया पुर्याएर पछि विकास गरिने कम्पनीले जनाएको छ ।
आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २०८७ पुस १५ गते तोकिएको छ । आयोजनाले विद्युत् उत्पादन सुरु गरेको पहिलो वर्ष नै ११.४ अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ ।
यो आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीपछि हालसम्म देशमा निर्माण भएको सबैभन्दा ठूलो आयोजना हो । यसअघि निजी क्षेत्रका टाइम्स इनर्जी प्रालिले ३४१ मेगावाटको बूढीगण्डकी आंशिकजलाशय र तमोर इनर्जी प्रालिले २८५ मेगावाटको माथिल्लो तमोरजस्ता ठूला आयोजना अघि बढाएका छन् ।
वित्तीय व्यवस्थापन भइसकेकाेले अब आयोजना द्रूत गतिमा कार्यान्वयनमा लगिने र समयमै सञ्चालनमा ल्याउने प्रतिबद्धता प्रवर्द्धक कम्पनीकी अध्यक्ष कर्माचार्यले व्यक्त गरेकी छन् ।