काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी बाढीमा परी बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारी/कामदारका आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जीवनयापनका लागि राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
राहतको पहिलो प्याकेजअन्तर्गत तत्कालका लागि बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रति कर्मचारी/कामदार ५ लाख हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको प्राधिकरणले जनाएको छ ।
दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि आधा तबलब उपलब्ध गराउने निर्णय भएको छ । यस अनुसार बेपत्ता भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई भदौ महिनादेखि बढीमा ६ महिनाका लागि बेपत्ता कर्मचारीको तहको शुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराउने भएको छ ।
प्राधिकरण अन्तर्गतका ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको र १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको प्राधिकरणले उल्लेख गरेको छ ।