म्याग्दी । रघुगंगा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले रघुगंगा–७ चिमखोला र वडा नम्बर ८ कुइनेमंगलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२.५ मेगावाटको उक्त आयोजना निर्माण सुरु गरेको दुई वर्षको अवधिमा बाँध, विद्युतगृह र पाइप लाइनतर्फको करिब ८० देखि ९० प्रतिशत काम सकिएको ठूलोखोला हाइड्रोपावरका वित्त प्रमुख प्रदीप खतिवडाले जानकारी दिए ।
उनका अनुसार आगामी जेठ मसान्तभित्र परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको पूर्वाधार निर्माणको कामलाई गति दिइएको छ । आयोजनाको पूर्वाधारतर्फको निर्माण कम्पनी देव ऊर्जा कन्ट्रक्सन प्रालिले दैनिक दुईसय जनशक्ति परिचालन गरेर काम गरिरहेको छ । आयोजनाकम लागि आवश्यक पर्ने उपकरण ढुवानीको काम धमाधम भइरहेको छ । विद्युत गृहमा विद्युतीय उपकरण र सामग्री जडानको काम भइरहेको वित्त प्रमुख खतिवडाले बताए । सुरुङरहित यस आयोजनामा कुल २ हजार ८०० मिटर पाइपलाइन जडानको काम अन्तिम चरणमा पुगेको छ ।
सुगुरथलामाथि रघुगंगा नदीमा निर्माण भएको बाँधबाट पेनस्टक पाइप लाइन हुँदै ल्याउने पानीलाई सेतिनी भ्यालीको फेदीमा रहने विद्युत् गृहमा खसालेर उत्पादन हुने आयोजना प्रमुख लोकबहादुर नायकले जानकारी दिए । उनका अनुसार उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्नका लागि ट्रान्समिसन लाइन निर्माणको कामसमेत धमाधम भइरहेको छ ।
तीन अर्ब रूपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा प्रवर्द्धकको तर्फबाट ३० प्रतिशत लगानी रहेको छ भने बाँकी ७० प्रतिशत लगानी सिटिजन बैंकको नेतृत्वमा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने वित्तीय सम्झौता भएको छ ।