काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शक्तिशाली हावाहुरीले ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन अवरुद्ध हुँदा बिहीबार (२०८२ जेठ १ गते) साँझ नेपालका अधिकांश स्थानको विद्युत् आपूर्तिमा समस्या आएको स्पष्ट पारेको छ । प्राधिकरणले काठमाडौँको स्युचाटारस्थित प्रणाली सञ्चालन विभागको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे स्पष्ट पारेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर आसपासका तराई क्षेत्रमा अति उच्च वेगका साथ चलेको शक्तिशाली हावाहुरीको कारण ढल्केवर–मुजफरपुर ४०० केभी लाइनको दुवै सर्किटमा एक साथ समस्या आउँदा विद्युत् आपूर्तिमा अवरुद्ध भएको बताए । ‘बेलुका करिब साढे ५ बजेदेखि राती ८ बजेसम्म देशका अधिकांश स्थानको विद्युत् आपूर्तिमा समस्या हुन पुगेका थियो,’ उनले भने, ‘यो प्राकृतिक तथा प्राविधिक समस्या हो, लोडसेडिङ गरिएको भ्रममा नपर्नुहोला ।’
भारतबाट आयात गरिने सबैभन्दा ठूलो (४०० केभी) को लाइनमा समस्या आएपछि सकेसम्म छिटो समाधान गरी आपूर्ति सुचारु गर्न प्रयास गरिएको र झण्डै २ घण्टापछि देशभरको विद्युत् आपूर्ति राती ८ बजेबाट सुचारु गर्न सकिएको पनि उनले बताए । हाल भारतबाट करिब ७ सय मेगावाट विद्युत् आयात हुँदै आएकोमा उक्त लाइनबाट मात्रै झण्डै ४५० मेगावाट आयात गर्ने गरिएको उनले स्पष्ट पारे । राष्ट्रिय प्रणालीमा हाल करिब २ हजार मेगावाको उच्च माग रहे पनि नेपालको कुल आन्तरिक उत्पादन अधिकतम १३ सय मेगावाट मात्रै रहेकोले भारतको विद्युत् नआउँदा धेरै ठाउँको आपूर्ति अवरुद्ध भएकाे उनकाे भनाइ छ ।
‘ढल्केवर–मुजफ्फरपुर लाइनमा देखिएको समस्या समधान गरी आपूर्ति सूचारु गर्न समय लाग्ने देखिएपछि प्राधिकरणले आन्तरिक उत्पादनबाटै आपूर्ति व्यवस्थापनको प्रयास गरेको भए पनि विद्युत् माग उच्च हुने साँझको समय भएकोले त्यो संभव भएन,’ उनले भने, ‘रक्सौल– परवानीपुर, मैनैया– सम्पतिया, कुशहवा– कटैया १३२ केभी लाइनहरू मार्फत भारतबाट आयात गर्ने र नेपालका विद्युत् गृहहरू सञ्चालन गरी आपूर्ति व्यवस्था मिलाउने प्रयास पनि साँझको उच्च मागका कारण प्रणालीमा विद्युत् अवरोध (ट्रिपिङ) भइरहँदा सम्भव हुन सकेन ।’
राती ८ बजे ढल्केवर-मुजफरपुर ४०० केभी लाइन मर्मत गरी दुवै सर्किट सञ्चालनमा आएपछि क्रमिक रूपमा देशका सबै स्थानमा आपूर्ति व्यवस्था सहज हुँदै गएको उनले बताए । यद्यपि, त्यसपछि पनि ढल्केवरदेखि पश्चिम नवलपुरसम्म १३२ तथा अन्य १३२, ३३ र ११ केभीका लाइनहरूमा समेत रुख ढलेर पोल तथा तार (कन्डक्टर) मा क्षति पर्याएका कारण सबै क्षेत्रमा एउटै समयमा आपूर्ति सुचारु नभई क्रमशः गरिँदै लगेको पनि उनले स्पष्ट पारे । ‘प्रणालीमा समस्या आएपछि म आफैँ विद्युत् प्रणाली सञ्चालन विभाग स्युचाटार आएर समस्याबारे प्रत्यक्ष जानकारी लिई आपूर्ति सुचारु गराउने कार्यमा साथीहरूलाई सहयोग गरेँ,’ उनले भने ।
मौसमजन्य घटनाका कारण विद्युतीय संरचनामा भएको क्षति तथा विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडेर 'अब इन्भरर्टर र मैन बत्तीको दिन आए’ भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइमा कत्ति पनि सत्यता नभएको समेत उनले स्पष्ट पारे । विद्युत् प्रणालीमा समय–समयमा देखिने प्रविधिक समस्यालाई दीर्घकालीन समाधान गर्न प्राधिकरण प्रतिबद्ध रहेको र आगामी दिनमा यस्ता घटना हुन नदिन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई काम गरिने प्रतिबद्धतासमेत उनले जनाए ।
‘यो घटनाले हामीलाई के पाठ पनि सिकाएको छ भने समस्या आएपछि मात्रै समाधान खोज्नुभन्दा समस्या नै आउन नदिन प्रसारण, वितरणका साथै हाम्रो सम्पूर्ण राष्ट्रिय विद्युत् प्रणालीको सुदृढीकरणमा आजैदेखि लाग्नु पर्ने छ,’ उनले भने, ‘प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तत्कालै वा एक वर्षभित्रै हुने काम पनि होइन, आजैदेखि सुरु गरियो भने कम्तीमा पनि २ वर्ष लाग्छ तर हामीलाई छिटाे समाधान चाहिएको छ ।’ यसका लागि आवश्यक लगानीको अभाव, वन तथा स्थानीयको अवरोध भने चुनौतीका रूपमा रहेको भन्दै उनले सबै पक्षको साथ र सहयोग भयो भने प्रणाली सुधार गर्न सकिने उनको भनाइ छ ।
‘झ्याप्प–झ्पाप्प बत्ती जाने अर्थात् ट्रिपिङको समस्या हिजो पनि थियो आज पनि छ भन्ने तथ्याङ्कले नै देखाउँछ, हिजो मानिसलाई त्यति चासो हुँदैथ्योत तर अहिले नयाँ दुलहीले जानीजानी यसो गरेकी हो की भनेर चासो बढेको मात्रै हो,’ उनले भने, ‘हाल नेपालको विद्युत् उत्पादको जडित क्षमता ३ हजार ५ सय मेगावाट पुगेको भए पनि प्रसारण प्रणालीको क्षमता २ हजार ४ सय मेगावाट मात्रै भएकाले प्रसारण तथा वितरण लाइनको क्षमता विस्तार र सुदृढीकरणमा पर्याप्त लगानी नगरिएसम्म झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको समाधान हुन सक्दैन ।’
उपभोक्ताहरूलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन प्राधिकरण प्रतिबद्ध रहेको भन्दै उनले आम उपभोक्ताले देखाएको चासो र चिन्तालाई सकारात्मक रूपमा लिएको पनि उनले बताए ।