काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले रसुवामा निर्माण गरिरहेको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत आगामी कात्तिकभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।
निर्माण अन्तिम चरणमा पुगेकाे आयोजनाको सिभिल संरचनाको काम ९९ प्रतिशत र समग्रमा ९५ प्रतिशत निर्माण पूरा भएको कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरणमा उल्लेख छ । आयोजनाको हाइड्रो तथा इलेक्ट्रो मेकानिकलको अन्तिम चरणकाे काम तिव्र गतिमा भइरहेको छ । आयोजनाको बाँकी सबै काम पूरा गरेर आगामि कात्तिकदेखि उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
२०६९ मंसिर १० गते ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसले गर्दा चिनियाँ भन्सार नाकाबाट उपकरण आयातमा अवरोध भई आयात हुन ढिला हुँदा उत्पादन ढिला भएको हो ।
यही कम्पनीले ४२.५ मेगावाटको सान्जेनको काम ८६ प्रतिशत पूरा गरेको छ । यो आयोजनाको काम पनि आगामी चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
अब कुनै अवरोध नभए दुवै आयोजनाको काम निर्धारित तालिकामा नै पूरा हुनेछ । दुवै आयोजनाको अहिले सिभिल, इलेक्ट्रोमेकानिर, हाइड्रोमेकानिकल उपकरणलगायतका काम भइरहेको छ ।
दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरू चीनबाट नेपाल आउन नसक्दा करिब २ वर्षदेखि काम प्रभावित हुँदै आएको थियो ।
उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसन जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५.९ किलोमिटर लामो प्रसारण लाइनको काम पूरा भएको छ । लाइनमा २० वटा टावर खडा गरिएको छ ।
यी आयोजना सम्पन्न गर्न निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर, निर्माणमा भएको ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीका अनुसार सान्जेन निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो सान्जेनका लागि २ अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो ।