काठमाडौँ । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बैंकका अनुसार उक्त ८ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइने छ । रु. १,००० अङ्कित मूल्यका दरले ३० लाख कित्ता बराबर हुन आउने ३ अर्ब रुपैयाँ बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ । ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्ने छ ।
नेपालको एक अग्रणी बैंक नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत ४ दशकदेखि बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलिरहेको छ ।