काठमाडौं । बझाङको कालंगा नदी बेसिनमा निर्माण भइरहेका ३ नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनामध्ये २ वटाबाट एक महिनाभित्र झण्डै ५४ मेगावाट विद्युत उत्पादन हुने भएको छ ।
कालंगा बेसिनमा निर्माणाधीन १५.३३ मेगावाटको कालंगा गाड, ३८.४६ मेगावाटको माथिल्ला कालंगा गाड र १०.७० मेगावाटको सानीगाडमध्ये कालंगा गाड र माथिल्लो कालंगा गाड पूरा हुने चरणमा पुगेका छन् । अहिले कालंगा गाडको निर्माण पूरा भई परीक्षण समेत सकिए पनि प्रसारण लाइन तयार नहुँदा विद्युत जोडिन नपाइएको ३ वटै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्प चित्रकारले बताए ।
३ वटा आयोजना प्रवद्र्धन गर्न क्रमशः कालंगा हाइड्रो इनर्जी कम्पनी (कालंगागाड १५.३३ मेगावाट), सानीगाड हाइड्रो कम्पनी (माथिल्लो कालंगागाड ३८.४६ मेगावाट) र बुंगल हाइड्रो कम्पनी (सानीगाड १०.७० मेगावाट) स्थापना गरिएको छ ।
‘कालंगा गाडमा सुरुङमा पानी हालेर परीक्षण गर्ने तयारी भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सुरुङको काम सकिएपछि पेनस्टक पाइपको परीक्षण गरिने छ ।’ यस्तै, माथिल्लो कालंगा गाड पनि परीक्षण चरणमा पुगेको हुँदा आगामी कात्तिकभित्र निर्माण पूरा हुने उनले बताए ।
यसैगरी, सानिगाडको काम अन्तिम चरणको काम भइरहेकोले आगामी माघचित्र पूरा गर्ने कम्पनीको योजना छ । यो आयोजनाको सुरुङ खन्ने र विद्युतगृहको काम पूरा भएको तथा पाइपलाइनको काम अन्तिम पुगेको चित्रकारले बताए ।
जलविद्युत आयोजनाको काम सकिए पनि प्रसारण लाइन निर्माण केही ढिला हुने हुँदा विद्युत उत्पादन तालिका लम्बिएको चित्रकारको भनाइ छ । उत्पादित विद्युत विद्युतगृहबाट करिब ३९ किलोमिटर ढाटा नेपाल विद्युत प्राधिकरणको दार्चुलास्थित चमेलिया आयोजनाको छेउमा निर्मित बलाँच सबस्टेसनमा जोडिने छ ।
जलविद्युत आयोजनाहरूको काम धमाधम भइरहेको तर कम्पनी आफूले निर्माण गरिरहेको प्रसारण लाइनमा ढिलाई हुँदा जलविद्युत आयोजना उत्पादन तालिका प्रभावित हुँदै आएका छन् । लाइन निर्माण गर्ने ठेकेदारले काम ढिलाई गर्दा तालिका प्रभावित हुँदै आएको कम्पनीले जनाएको छ । ‘अहिले हामी आफै कामदार थप गरेर लाइनको काम तिव्र गतिमा अघि बढाएका छौ, एक महिनाभित्र लाइन निर्माण सम्पन्न हुनेछ,’ उनले भने ।
यी जलविद्युत आयोजना पूरा भएपछि सुदूरपश्चिम क्षेत्रमा विद्युत आपूर्ति सहज बन्नेछ, हाल यस क्षेत्रमा अपि पावरले निर्माण गरेका दुई आयोजना र भारतबाट आयाति विद्युत आपूर्ति भइरहेको छ । ३ वटै आयोजनाबाट २०७८ सालको चैतभित्रै विद्युत उत्पादन गर्ने तालिका रहे पनि भौगोलिक विकटता, बाढी–पहिरो, केही स्थानीय समस्या, कोरोना महामारी (कोभिड–१९) को असर जस्ता कारणले विद्युत उत्पादन गर्नुपर्ने अवधि (आरसिओडी) लम्बिँदै गएको छ ।