विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण ११, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रम (एसएसपी) मार्फत हालसम्म करिब १७ करोड रुपैयाँ सहयोग गरेको छ । आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले एसएसपी, संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, संस्कृति जर्गेना, राहत वितरण, जीविकोपार्जन तथा आय–आर्जन वृद्धिलगायतका कार्यक्रममार्फत प्रभावित क्षेत्रमा उक्त सहयोग उपलब्ध गराएको हो ।

कोरियन कम्पनीहरूको अगुवाइ तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा निर्माण भइरहेको आयोजनाको बाँधलगायतका संरचना रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकु र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृहलगायतका संरचनाहरू निर्माणाधीन छन् । आन्तरिक खपतका विद्युत् उत्पादन गर्ने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।

२०७२ सालको विनाकासकारी भूकम्पबाट नराम्ररी प्रभावित भएको आयोजना क्षेत्रमा कम्पनीले भूकम्प पीडितलाई राहत सामग्री वितरण तथा अस्थायी अवास, विद्यालय, स्वास्थ्य संस्था भवन निर्माण, हेलिकोप्टरमार्फत उद्दार, स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यक्रम गरेको थियो ।

आयोजनाका अनुसार प्रभावित आदिवासी जनजाति समुदायसँग नेपालमै पहिलोपटक स्वतन्त्र, अग्रिम, सुसूचित सहमति (एफपिक) लागु गरिएको छ । आदिवासी समुदायको थातथलो, वातावरण र उनीहरूको सांस्कृतिक विशेषतालाई ध्यान दिएर छुट्टै आदिवासी समुदाय योजना कार्यान्वयनमा ल्याएको छ । उक्त योजनामार्फत समुदाय आफैँले छनोट गरेका कार्यक्रमहरू सञ्चालन गर्न छुट्टै बजेट व्यवस्था गरिएको छ । यसमार्फत हालसम्म साढे २ करोड रुपैयाँ लगानी भइसकेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बायोङ सु मिनले आयोजना प्रभावितहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार, रोजगारी एवम् जीविकोपार्जन, त्यस क्षेत्रको विकास जस्ता विषयलाई विशेष ध्यान दिएर सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गरिएको बताए । आयोजनाले स्थानीय बासिन्दाको माग बमोजिम प्राथमिकताका आधारमा योजनाहरू छनोट गरी सहयोग कार्यक्रमहरू सञ्चालन गरिरहेको र यसलाई निरन्तरता दिने उनको भनाइ छ ।

आयोजनाले हाकुबेंसीस्थित त्रिशूली नदीमा बेलीब्रिज निर्माण गर्न ७ करोड ८६ लाख १४ हजार रुपैयाँ खर्च गरेको छ । पुल निर्माणपछि आमाछोदिङमो गाउँपालिका १ र २ नम्बर वडास्थित हाकु क्षेत्रका बासिन्दा सडकको पहुँचमा पुगी मुख्य रुपमा सदरमुकाम धुन्चे, नुवाकोट र काठमाडौँतर्फ आवतजावत गर्न सजिलो भएको छ । आयोजना निर्माणका लागि आवतजावत गर्न समेत उक्त पुल प्रयोगमा ल्याइएको छ । प्रभावित क्षेत्रमा सडक निर्माणका लागि १८ लाख ५७ हजार रुपैयाँ लगानी गरिएको आयोजनाले जानकारी गराएको छ । यसका अतिरिक्त धुन्चे खोलडोल सडक निर्माणका लागि थप ७० लाख रुपैयाँ खर्च गरिएको छ ।

प्रभावित क्षेत्रको शैक्षिक सुधारका लागि विद्यालय भवन निर्माण, शैक्षिक सामाग्रीलगायतका वितरण गरिएको छ । साथै, हाकुस्थित तीन वटा विद्यालयलाई १/१ जना शिक्षक सन् २०१८ देखि उपलब्ध गराएको छ । आयोजनाले त्यस क्षेत्रका आदिवासी जनजातिको साँस्कृतिक रितिरिवाज संरक्षण र पवद्र्धनका लागि गुम्बालगायतका भवन निर्माण र अन्य कार्यक्रममा समेत सहयोग गर्दै आएको छ ।

आयोजनाबाट सञ्चालित मुख्य कार्यक्रमहरू                       

क्र.सं. कार्यक्रम खर्च बजेट (रुपैयाँ)
१.       त्रिशूली नदीमा बेली ब्रिज निर्माण  ७ करोड ८६ लाख १४ हजार
२. सीप तथा व्यवसायिक तालिम     ८१ लाख ४३ हजार 
३.  शैक्षिक सहयोग कार्यक्रम     ७२ लाख २९ हजार
४. धुन्चे खोलडोल सडक     ७० लाख
५. लाङटाङ राष्ट्रिय निकुञ्ज     ५५ लाख
६. स्थानीय सङ्घ/संस्था सहयोग     ३७ लाख ३६ हजार
७.  सडक निर्माण तथा मर्मतसम्भार     १८ लाख ५७ हजार
८. धार्मिक संस्था सहयोग    १३ लाख
९. खानेपानी     ६ लाख १५ हजार
१०. जिल्ला प्रहरी कार्यालय, रसुवा    ४ लाख ९७ हजार
११.  आदिवासी जनजाति समुदाय योजना कार्यान्वयन    २ करोड ५० लाख 
१२.  प्रहरी चौकी, हाकु   ०.१६ हेक्टर जग्गा उपलब्ध गराएको

 स्रोत : माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना 

आयोजनाका अनुसार प्रभावितहरूको जीविकोपार्जन पुनस्र्थापना तथा आयआर्जनका लागि १२१ जनालाई तालिम दिइएको छ । कोरियन तथा जापानिज भाषा, ड्राइभिङ (हलुका र हेभी), इलेक्ट्रिसियन, वेल्डिङ, टेलरिङ, मोटरसाइकल मर्मत, ब्युटीपार्लरलगायत सीपमूलक व्यवसायिक तालिम उपलब्ध गराइएको छ । यसका लागि ८१ लाख ४३ हजार रुपैयाँ आयोजनाले लगानी गरेको छ । 

आयोजना निर्माणमा हाल करिब १ हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब ४ सय रसुवा जिल्लाका स्थानीय छन् । तीमध्ये आयोजना प्रभावित घरपरिवारका १ सय ५४ जना छन् । आयोजना निर्माण अवधि (५ वर्ष) मा ८ सयदेखि १ हजार जना नेपाली श्रमिकले दैनिक रोजगारी पाउने छन् । 
आयोजनाको मुख्य निर्माण २०७८ पुसबाट सुरु गरिएको थियो । भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाको निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र  भौतिक प्रगति ५२ प्रतिशत रहेको छ । 

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एर्नबिलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी (इक्विटी) रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निमाण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम इक्विटीबाट जुटाइएको छ । 

आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ । 

काठमाडौँ (लोडसेन्टर) बाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १ सय ४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३